राप्तीसोनारी ९ का सडक मर्मत भएनन्, ‘हिउँदमा धुँलो र वर्षामा हिलोले सताउँछ’



शुभाकर विश्वकर्मा, कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ९, की कमला ओली ह्विलचियरमा हिड्डुल गर्छिन् । बैजनाथपुरमा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत उनी पुर्ण अपांग हुन् । ह्विलचियर कै सहायताले दैनिक विद्यालय आउजाने गर्छिन, उनी । कमलाको जिन्दगीको साहारा भने कै त्यही ह्विलचियर हो । घरबाट विद्यालय सम्म पुग्न उनलाई प्रन्ध्र मिनेट लाग्छ । तर बाढीका कारण भत्केको बाटो र हिलोका कारण आफुलाई विद्यालय आउजाउ गर्न निकै समस्या समस्या हुने गरेको ओली बताउँछिन् । बाटोमा रहेका खाल्डाखुल्डी, हिलो र कटानका कारण उनी जस्तै अपांगता भएका व्यक्तिलाई बाटोमा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ‘हिलोमा ह्विलचियर अड्डिन्छ, टायर गाडिन्छ’ ओलीले दुःखेसो गर्दै भनिन्, ‘हामी जस्ताको बाध्यता बुझ्ने को नै छ र ? भत्केको र बाढीले कटानको गरेको बाटो मर्मत नहुदाँ विद्यालय आउन जान निकै समस्या हुन्छ ।’

अत्यधिक पानी पर्दा, धेरै हिलो र पानी जमेका दिन पढाई नै छुट्ने गरेको उनले बताईन् । हिउँदमा धुँलो र वर्षामा हिलोले सताउने भन्दै सरोकारवालाको उचित ध्यान जानुपर्ने उनको माग रहेको छ । घरको अवस्थामा पनि नाजुक भएकोले ह्विलचियर बिग्रिदा किन्न सक्ने अवस्था पनि न रहेको भन्दै सरोकारवालालाई छिट्टै सडक निर्माण गरिदिन उनले आग्रह गरिन् । गत असार महिनामा स्थानीय चुकेनालामा बाढी आएर कारण बाटो कटान गरेको थियो । स्थानीय शिक्षक लिला बहादुर डाँगीका अनुसार २ महिना वितिसक्दा समेत खाल्डाखुल्डी पुर्ने, हिलो साम्य पार्ने काममा स्थानीय सरकारको ध्यान जान सकेको छैन । केही स्थानीयले बाँध बाँधेर कटान रोकिए पनि अन्य ठाउँमा समस्या रहेको उनको भनाई छ । बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको अगुवाईमा करिब २० मिटर बाटा कटान बाँध बाँध्ने काम भएको हो । तर कटान पछि भत्किएको बाटोमा खाल्डाखुल्डीका कारण, साना विद्यार्थी, अपंगाता भएका व्यक्ति लगायतलाई आवागमनमा समस्या भएको शिक्षक डाँगीले जानकारी दिए ।

यति मात्रै होईन त्यस क्षेत्रका अधिकांश सडकमा अटोरिक्सा संचालनमा समस्या भएको अटो चालकहरु बताउँछन् । उता राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष महाविर ओलीले मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उठाउन नमिल्ने कानुनी अड्चनका कारण समस्या भएको बताए । उनका अनुसार सो क्षेत्रको बाटो मर्मतका लागी स्थानीय क्रसर उद्योगलाई आग्रह गरेको भएपनि सुनुवाई हुन सकेको छैन । स्थानीयहरुबाट गुनासो आएकोले समस्या समाधान गर्नको लागि पहल गरिने वडा अध्यक्ष ओलीले आस्वासन दिए ।

प्रकाशित मिति : २०७६ भदौ ४ गते बुधबार