छाडा पशु चौपाया व्यवस्थापन गर्न समिति गठन



कोहलपुर ।

सडक बजारमा छाडा रुपमा छोडिएका पशु चौपाया व्यवस्थापन गर्नको लागि एक समिति गठन गरिएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका भित्र छाडा पशु चौपायाको संरक्षण र व्यवस्थापन गर्नको लागि एक समिति गठन गरिएको हो । छाडा पशु चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै विरोध भएपछि समिति गठन गरेको बताइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मंगलबार भएको सर्बपक्षिय बैठकले ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो । सडक तथा बजारमा छाडा रुपमा छोडिएका गाई लगायतका अन्य जनावरको संरक्षण र व्यवस्थापनका लागि समितिले काम गर्नेछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष रहेको समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहेका छन् ।

समितिको सदस्य सचिवमा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी पवन कनौजियालाई तोकिएको छ । बैठकले उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सदस्य रहेको अनूगमन समिति समेत गठन गरेको छ । बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले नेपालगञ्जमा छाडा पशु चौपाय विकराल समस्याको रुपमा रहेको बताउँदै अल्पकालिनसँगै दीर्घकालिन समाधानको खोजी भईरहेको जानकारी दिए । ‘गाई संरक्षणका लागि धेरैजनाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ’ उनले भने,‘ कोष संचालन भएपछि संरक्षणका लागि सहयोग पुग्नेछ ।’ बैठकमा सहभागी सराकारवालाहरुले जनावरको दर्ता प्रक्रिया(ट्यागिङ)को ब्यवस्थापन गर्न सुझाव दिएका थिए ।

उपप्रमुख मगरले नेपालगञ्जमा हाल निर्माणाधिन गौशाला नभई काञ्जिहाउस भएको बताउँदै गौशालाका लागि नेपालगञ्जमा स्थान अभाव स्पष्ट पारिन् । छाडा पशु चौपायको ब्यवस्थापनमा सबै पक्षबीच हातेमालो हुन जरुरी भएको उनले बताइन् । बैठकमा नेकपाका नगर अध्यक्ष डिल्ली बराल (अमिर), नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ट, राप्रपाका मनोज श्रेष्ठ, अभियन्ता डा. विनोद कर्ण, विवेक श्रेष्ठ, समिरमान श्रेष्ठ, श्याम शाक्य, हरि सुवेदी नेपालगञ्ज उप–महानगरपालिका २१ का वडा अध्यक्ष रञ्जित खाँ लगायतले विभिन्न सुझाव दिएका थिए ।

नेपालगञ्जको काञ्जिहाउसमा रहेका जनावर मध्ये साढे, गाई, घोडा, बाच्छा–बाच्छी लगायतलाई पार्टेशन गरि अलग–अलग राख्ने, टिनका टहरा थप गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको थियो । उपमहानगरपालिकाले यसअघि समेत छाडा पशु चौपाया नियन्त्रणमा लिने  भन्दै विभिन्न निर्णयहरु कार्यान्वयनमा आउन सकेका छैनन् । नगरबासीहरुले  भने पशु चौपाया नियन्त्रण गर्ने भन्दै विभिन्न निर्णय गर्नुभन्दा पनी पहिले भएका सहमती तथा निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउछन् । नेपालगञ्ज शहरभरी छाडा पशु चौपायाका कारण व्यवसायीहरुले दुख पाइरहेका छन् भने दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २९ गते बुधबार