10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

छोरा भए अबिर जात्रा, छोरी भए भाग्यलाई सराप !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १८, २०७६  

गत असार २८ गते पातारासी गाउँपालिका ४ लोर्प गाउँका राज रेउले र देव नेपाली छोराका बाउ भने । रेउले र नेपाली दम्पतिको पहिलो सन्तान भने थिएन छोरो । यस अघि नेपालीका ४ र रेउले ३ छोरीका बाउ बनिसकेका थिए । दुबै जनाका श्रीमती पहिलो पटक स्वास्थ्य चौकीमा सुत्केरी भएका हुन् । संयोग नै मान्नु पर्छ, दुबै जनाले छोरालाई जन्म दिए । उनीहरुलाई विषेश सुविधा सहित केही दिन अस्पतालमा राखियो । पछि घरमा सुत्केरीहरु घरमा लिदा अबिर जात्रा नै चल्यो । चुनाव जितेपछि नेतालाई कार्यकर्ताले बधाई दिदाको भन्दा फरक थिएन दृष्य ।बाटो छेउ बटुवा, होटले पसले, छिमेकीलाई सुत्केरी आमा, बाउ र आफन्त लाई सिन्दुरले एकैछिनमा रातै भए । तीन छोरीलाई जन्म दिदा पनि नपाएको सम्मान छोरा जन्माउदा पाएकोमा उनीहरुलाई पक्कै पनि अनौठो लागेको हुदो हो ।सुत्केरी महिलाहरु पिडामा थिए । तछाडमछाड घर पुगुन्जेल रोकिएन । घरमा पुगेपछि बाजागाजा सहित सम्मान गरियो ।

यसै गरि साउन २ गते तातोपानी गाउँपालिका ६ का बिर सुनार र धना सुनारको कोशबाट पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । अस्पताल मै छोरीको जन्म दिईन्,धनाले । बच्चा जन्माउदा नपाएको पिडा उनले छोरी जन्मेपछि पाईन् । छोरी जन्मेको थाहा पाएपछि घरबाट केही पनि आएनन् । अस्पतालका नर्सहरुको निगरानीमा २ दिन बस्नुप¥यो । दैलेखमा जागिर गर्ने श्रीमान तीनपछि आए । त्यसपछि श्रीमान सहित उनी घर आउदा बाटोमा,पसल र मिछेकीले कुरा काटे । उनीहरुले नराम्रा कुरा समेत सुन्न प¥यो । ति दाम्पतीको छोरीलाई जन्म दिनुको सजाय थियो त्यो । समाजको वर्तमान स्थिति झल्काउने यि प्रतिनिधि घटना हुन् । यहाँ हरेक दिन यो क्रम चलिरहन्छ । समाजमा छोरीलाई भन्दा छोरालाई महत्व दिने प्रचलन नै रुपमा रहेको छ अझैपनि । हुर्के बढेपछि छोरी पराइको घरमा जान्छन भन्ने अन्धविस्वासका कारण जन्मबाटै विभेद हुने गरेको छ । तर छोरा जन्मिएमा, अबिर जात्रा, भोज दिने रमाईलो गर्ने गरिन्छ ।

सुत्केरी महिलाहरु छोरी जन्माएमा राम्रोसँग स्याहारको त कुरै छोडौ, राम्रो खान समेत पाउछिनन् । छोरा जन्माएमा अरुसँग सरसापट गरि, ऋण गरेर पनि मिठो मसिनो खुवाउने चलन छ । लोर्पका स्थानीय जनक बुढा देवका छिमेकी हुन् । यस अघि छोरी जन्मिदा त्यो घरमा कहिल्यै दियो बलेन, कहिल्यै अबिर जात्रा भएन, उनी भन्छन्, छोरीलाई भन्दा छोरालाई महत्व दिने चलन कायमै छ । छोरा जन्मिएमा खसी काट्ने आफन्त बोलाएर भोज खाने अनिवार्य जस्तो छ । छोरी जन्मेको भए यसरी नै अबिर जात्रा गर्नु हुन्थ्यो त ? भन्ने प्रश्नमा भर्खर अभिभावक बनेका रेउले र नेपालीले अर्का घर जान्या जात जन्म्या यसो काँ हुन्थ्यो भन्ने जवाफ स्वाभाविक थियो । किन भने यहाँको चलन नै यस्तो हो । छोरा जन्मेको बेला भोज भतेर नगरे गाउँले समेत असहमति जनाउछन् ।

समाजमा रहेको अलिखित कानुनको हो, पालना गरे पुरस्कार स्वरुप सबैको बधाई पाउछन्, पालना नगरे सामाजिक बहिस्करणको भागिदार भईन्छ । छोरा जन्मदा खुसी भन्दा पनि बाध्यता पनि हुन्छ । छोरी जन्मदा भोज भतेरको लागि कर नगर्ने समाजले छोरा जन्मदा भने घरको आर्थिक अवस्था नाजुक भएपनि, सबल भएपनि, चाहे ऋण नै गरेर किन नहोस छोरा हुदाको खुसी स्वाद चखाउनै पर्छ । कसैले चाहेर पनि परिवर्तन गर्न सकेको छैन । यो जमाना पनि छोरी छोरीलाई विभेदको नजरले हेर्ने चलन रहेको छ । जुम्लाका दुरादराजमा यस्तै घटना खुलेयाम भईरहेका छन् । तर केही वर्ष अघि तत्कालिन नेकपा एमालेका पार्टी सचिब रहेका आदी प्रसाद न्यौपानेले छोरी जन्मिदा भोज भतेर गरेका थिए । सामाजिक र राजनितिक चेत भएका उनको कदमलाई धेरै प्रशंसा गरे भने विवाद पनि भयो । उनले धेरै केही गरेका थिएनन्, तर राम्रो सन्देश भने पक्कै थियो । तर यहाँ त २ छोरी जन्मदा स्यायी बन्याकरण गर्ने पनि धेरै छन् ।

जुम्लाको समाज अहिले पनि निम्न र मध्यम खालको छ । शैक्षिक, आर्थिक र राजनितिक रुपमा निकै पछि रहेको समाजमा प्राय यस्ता घटना हुने गरेका छन्, भइरहेका छन् ।यहाँका कुनाकन्दरामा सामाजिक जागरण, जनचेतना र पुगिसकेको छैन । पराम्परागत सोच, मुल्य र मान्यतामा आधारित समाजमा यस्तो हुनु स्वाभाविक हो तर कथित शिक्षित भनिने वर्गमा समेत छोराछोरी प्रतिको विभेद घाम झै छर्लङ छ । उदाहरणका लागि अहिलेको सामाजिक संजालमा देखिने गरेका केही प्रसंगहरु ।जुम्लाका केही राजनितिककर्मी, शिक्षक, निजामती कर्मचारी र सामाजिक अभियान्ता सामाजिक संजालमा खुब सक्रिय छन् । उनीहरुका सामाजिक संजालका स्ट्याटसहरु छोरा छोरी प्रति विभेद प्रष्टै देखिन्छन् । एकजना शिक्षक उनका निजामती कर्मचारी साथी छोरो जन्मेकोमा फोटो सहित बधाई दिन्छनन् ।‘बधाई छ साथी,आज छोराको बाउ भएकोमा छोराको सुयोग्य पिता बन्नु शुभकामना । ’ सेवा निर्भित्त भईसकेका उनको पहिलो श्रीमतीबाट तीन छोरी छन् ।अहिले जन्मेको छोरो दोस्रो श्रीमतितिर हो ।छोरी जन्मिदा भने ति साथीेले फेसबुकमा बधाई दिएनन् ।छोरा कै लागि दोस्रो विवाह गरेकाहरु सामाजिक संजालमा समानताका ठुला–ठुला नारा धन्काईरहेका छन् । ‘दुई सन्तान ईश्वरका बरदान’ भन्ने चलन छ हाम्रो समाजमा ।

कहिले काँही त लाग्छ यि चुनावका बेला नेताहरुले कार्यकर्तालाई झुक्याउन लागिएको नारा जस्तै हो की । स्थानीय सरकारले भने यस्ता समस्या समाधानको लागि प्रयास गरेको देखिन्छ । पातारासी गाउँपालिकाले स्वास्थ्य सस्थामा सुत्केरी भए गाउँपालिकाको तर्फबाट ३ हजार छोरीको खाता खोलिदिने कार्यक्रम ल्याएको छ । यस्ता बस्ता बस्तीमा सबैभन्दा पहिला शैक्षिक अभियान जागरणको कै रुपमा ल्याउनु पर्दछ । हाम्रा देशका प्रधानमन्त्री केपी शर्मा ओली पनि नि सन्तान छन् । प्रधानमन्त्री ज्युले ति बस्तीमा गएर ‘म पनि नि सन्तान हु नी, तपाईहरु छोरा छोरी प्रति विभेद गर्नु हुन्छ , अब छोरी जन्मिए सरकारले खातामा पैसा हालिदिन्छु, अभियान यहिबाट शुरु गरौ ।’छोरीलाई बिभेद गर्नु भनेको आफ्नै आमा, श्रीमती, बहिनीलाई विभेद गर्नु जस्तै हो । भनेर बुझाई दिएको भए हुन्थ्यो की ?

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     1:41:48 PM  |