8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रदेश लोक सेवा आयोग विधेयक पारित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६  

कैलाली ।

सुदूरपश्चिम प्रदेश सभा बैठकबाट ‘प्रदेश लोक सेवा आयोग विधेयक २०७६ पारित भएको छ । प्रदेशसभा बैठकबाट उक्त विधेयक पारित भएको हो । प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समितिले तयार गरेको लोक सेवा सम्बन्धी विधेयकमाथिको प्रतिवेदनमाथि छलफल भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको प्रस्तावमा विधेयक पारित भएको हो । विधेयक पारित भएसँगै प्रदेश सभाको अर्को बैठक अनिश्चित भएको छ । सभामुख अर्जुन बहादुर थापाले अर्को बैठकबारे सूचना प्रकाशित गरि सबै सदस्यहरुलाई जानकारी गराइने बताए ।

विधेयक पारित हुनुपूर्व प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शाहले समावेशी र समानुपातिक जस्ता विषय सर्वस्वीकार्य भएकोले विधेयकमा नलेख्दैमा ति छुट्ने र लेख्दैमा संविधानविरुद्ध भइहाल्ने स्थिति नभएको बताए । उनले लोक सेवा आयोगको गठन भएपछि निजामति सेवा ऐन, प्रहरी सेवा ऐन जस्ता ऐनहरु बनाउँदा समावेशी र समानुपातिक हुने विषयहरु ऐनमै उल्लेख गरिने बताए ।

यसअघि विधेयक माथिको छलफलका क्रममा प्रदेश सभा सदस्य महेश जोशीले अन्य ऐनहरुमा समावेशीकरणको विषय राखिनु पर्ने र लोक सेवा सम्बन्धी विधेयकमा समावेशी शब्द राखिरहनु नपर्ने बताए । उनले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको संरचनालाई पूर्ण बनाउन लोकसेवा आयोगको महत्वपूर्ण भूिमका हुने भएकोले विधेयक महत्वपूर्ण रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कर्मचारी छनौटको आधार निष्पक्षता हुनुपर्ने भन्दै लोक सेवा सम्बन्धी ऐनमै समावेशीको कुरा राख्न नहुने बताए । नेकपाका प्रदेश सभा सदस्य दुर्गा कुमारी कामीले समावेशी सिद्धान्तका आधारमा लोक सेवा आयोगले कर्मचारी छनौट गर्नेगरी विधेयकमै व्यवस्था गर्न आवश्यक रहेको बताए । यस्तै कांग्रेस प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले अर्काको वैशाखीमा रहेको सरकार विधेयक पारित भएपछि कर्मचारी भर्ना गरेर आफ्नो खुट्टाको सहारामा हिड्न सक्ने बताए ।

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     12:22:55 PM  |