जुम्ला ।
जुम्लामा तेस्रो चरणका जुम्ला रारा अल्ट्रा म्याराथन आगामी भदौ २९ हुने भएको छ । खेदकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन र पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता गर्न लागेको हो । पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली स्पोट्स क्लव जुम्लाले सो जानकारी गराएको थियो । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा अन्तराष्ट्रिय धावकदेखि स्थनीय धावक, साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको सहभागिता रहने छ ।
कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रबद्र्धन गर्नका लागि अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । उनले खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने बताए । राष्ट्रिय स्तरको अल्ट्रा म्याराथन प्रतियोगितामा राष्ट्यि स्थानीय गरी ३ सय २० जना खेलाडीहरुको सहभागी हुने भएका छन् ।
जिल्ला बाहिरका मात्रै ६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधि पाइसकेका खेलाडीहरु पनि सहभागी हुने भएका छन । जुम्ला सदरमुकामदेखि सुरु भएको दौड मुगुको हुटु लेकमा सकिने छ ।
जुम्ला सदरमुकामको चन्दननाथ मन्दिर अगाडिबाट सुरु गरिएको ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टामा मिट प्वाइन्टमा पुगिसक्नु पर्ने कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।
‘जुम्ला रारा अल्ट्रा म्याराथोनको रुट जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ । प्रतियोगिता सुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिरदेखि मुगुको हुटु लेकसम्म पुगुन्जेलसम्मका लागि पाँच ठाउँमा खेलाडी चेक प्वाइन्ट राखिएको उनको भनाइ छ ।