कोहलपुर ।
हावाहुरी र चट्याङ्गले बाँकेका छुट्टाछुट्टै स्थानमा बुधबार आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जिल्लाको डुडुवा गाउपालिका–१ छोटी चौफेरीमा हावाहुरीसंगै परेको चट्टयाङ्गका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया जलेर घाइते भएका छन् । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको छ ।
चट्टयाङ्गपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको प्रहरी उपरिक्षक पौडेलले बताए । यसैगरी बुधबार नै सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं. ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बताइएको छ । स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्