कैलाली ।
गत वैशाख २२ गतेबाट हवाई उडान ठप्प पारेर धनगढी विमानस्थल स्तरोन्नतीको काम चलिरहेको छ । जेठ २१ गतेबाट उडान जारी गर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी आजबाट उडान सुरु हुने भएको छ ।
धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले आजबाट उडान सुरु हुने जानकारी दिए । तर, विमानस्थलको धावन मार्गमा भने अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन । ओभर लेयरको काम जारी रहने तर उडान भने बुधवारबाटै सुरु हुने उनले बताए ।
‘दलदले माटो फालेर उडान भर्न सकिने जति काम सकिएको छ,’ उनले भने, ‘बुधवारबाट ३१ गतेसम्म नर्मल उडान हुन्छ, फेरि १ गतेबाट राती काम हुने गरी बाँकी रहेको ९ सय मिटर ओभर लेयरको काम अघि बढ्छ ।’ धनगढी विमानस्थलको लम्बाई १८ सय मिटर रहेको छ । असार १ गतेबाट अपरान्ह ४ बजेबाट बिहान साढे ८ बजेको समय ओभर लेयरका लागि भनेर छुट्ट्याइएको विमानस्थलका प्रमुख बुड्थापाको भनाइ छ ।
विमानस्थलमा धावन मार्ग ओभर लेयर, पार्किङ क्षेत्र र धावन मार्ग विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला कृष्ण जेभी सँग करिब साढे १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । दैनिक साढे ६ सय यात्रुले ओहरदोहर गर्ने धनगढी विमानस्थल मर्मत सुरु भएदेखि पूर्ण रूपमा बन्द रहेको छ ।