‘कृषि र सहकारी आर्थिक समृद्धिका आधार’



कोहलपुर ।

५ नम्बर प्रदेशकी कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले कृषि र सहकारी समाज रुपान्तरणको आधार क्षेत्र भएको बताएकी छन् । बिहीबार बाँकेको कोहलपुरमा आयोजिक बृहत् कृषि गित प्रतियोगितामा बोल्दै उनले आगामी आर्थिक बर्षका निति तथा कार्यक्रममा सरकारले पहिलो प्राथमिकता दिएको दाबी गरिन् ।  बाँके र बर्दिया जिल्लामा कृषि उत्पादनलाई बृद्धि गर्न कृषकहरुलाई कृषि गितको माध्यमबाट प्रो्रत्साहन गर्ने उद्धेश्यले कृषि तथा पशुपालन विषयक सचेतनामुलक गित प्रतियोगिता आयोजना गरिएको हो । प्रदेश सरकार कृषि र सहकारीको माध्यमबाट बैदेशिक रोजगारी निरुत्साहित गरी स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्ने लक्ष्यमा रहेको मन्त्री पौडेलले बताइन् ।

‘प्रदेश ५ मा बिदेशिने युवाहरुको संख्या उल्लेख्य छ’ उनले भनिन्, ‘बैदेशिक रोजगारी निरुत्साहित गरी स्थानीय स्तरमा स्वरोजगारी बढाउने हाम्रो प्रमुख उद्देश्य रहेको छ ।’ कृषि र सहकारीलाई आर्थिक समृद्धिसँग जोड्नु पर्नेमा उनको जोड रहेको थियो । मन्त्री पौडेलका अनुसार प्रदेश सरकारले कृषि र सहकारी मार्फत यूवा तथा महिला शसक्तिकरणका कार्यक्रम ल्याएको छ । ‘आगामी आर्थिक वर्षलाई उत्पादनको वर्षको रुपमा लिएका छौं’ उनले भनिन्, ‘त्यसै अनुरुप नीति नियम र कानुन तर्जुमाका कार्यक्रम पनि अगाडि बढिरहेका छन् ।’

अहिले सम्म प्रदेश सरकारले ३८ वटा कानुन निर्माण गरिसकेको मन्त्री पौडेलले जानकारी दिइन् । आउँदो आर्थिक वर्षमा प्रदेशका १ सय ९ वटै वडामा कृषि समृद्धि यात्रा, विद्यालय स्तरमा पढ्दै पढाउदै कार्यक्रम, ३२ वटा सहकारी सँगको सहकार्यमा सहकारी महिला जागरण अभियान र स्थानीय उत्पादनको बिकास र प्रवद्र्धनको लागि प्रदेश स्तरमा ९ वटा सहकारी बजारको स्थापना गर्ने कार्यक्रम रहेको उनले बताइन् । कृषि रोजगार कार्यक्रम, ४७ प्रतिशतमा रहेको वन क्षेत्रलाई रोजगारीसँग कृषि वन कार्यक्रम मार्फत स्वरोजगार मुलक कार्यक्रम संचालन गरिने मन्त्री पौडेलको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कृषि क्षेत्रको बिकास भएमात्र देश विकास हुने बताए । ‘कृषि नै जीवन हो’ उनले भने, ‘कृषि क्षेत्रको विकासबाट रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।’ उनका अनुसार कोहलपुर नगरपालिकाले स्थानीय स्तरमा कृषि र सहकारी क्षेत्रलाई प्राथमिकताका साथ लिएको बताए । प्रदेश सरकारले आगामी चालु आर्थिक वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री पौडेलले जानकारी दिइन् । ‘बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढिरहेको छ’ उनले भनिन्, ‘यसमा सहजीकरण गर्न लागिएको भूमि सरकारले ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ लागु गर्न लागेको हो ।’ किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके उत्पादित वस्तु बिक्री वितरणको जिम्मा प्रदेश सरकारले लिने दाबी गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २४ गते शुक्रबार