राष्ट्रपति भण्डारी आज नेपालगन्ज आउँदै



कृष्ण ओली । कोहलपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज बाँकेको नेपालगन्ज आउने भएकी छिन् । डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी आज नेपालगन्ज आउन लागेकी हुन् । यसअघि राष्ट्रपति गत वैशाख ५ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न नेपालगन्ज पहिलोपटक आएकी थिइन् । बैजनाथ गाउँपालिका ५ जि गाउँमा रहेको प्रभात माविको स्वर्ण जयन्ती समारोह, नेपालगन्जमा हुने सामुहिक ‘रोजा इफ्तार’ लगायतका कार्यक्रममा सहभागिता हुन उनी नेपालगन्ज आउन लागेकी हुन् । राष्ट्रपति आउने भएसँगै रमजानको महिनामा व्रत (रोजा) बसिरहेका यहाँका नेपाली मुस्लिम समुदायले सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रमको आयोजना समेत गरेका छन् । नेकपाका केन्द्रिय सदस्य मोहम्मद हारुनका अनुसार आज साँझ साढे ५ बजेपछि नेपालगन्जस्थित सिद्वार्थ कटेजमा आयोजना हुन गइरहेको सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति भण्डारी समेत सहभागि हुनेछिन् ।

‘पहिलो पटक राष्ट्रप्रमुख रोजा इफ्तार कार्यक्रममा सहभागि हुने भएपछि यहाँका नेपाली मुस्लिम समुदाय हर्षित भएका छन्’ उनले भने, ‘इफ्तार कार्यक्रममा राष्ट्रप्रमुखको सहभागिता हुनुलाई उत्साहकासाथ हेरिएको छ । यसले सबै धर्म सम्प्रदाय एक छ भन्ने सन्देश प्रवाह गर्नेछ ।’ दिनभरी व्रत बसेर बेलुका व्रत खोल्ने (तोड्ने) कार्यलाई इफ्तार
भनिन्छ । राष्ट्रपति भण्डारीको उपस्थितीमा हुने ‘रोजा ईफ्तार’ कार्यक्रममा विरयानी, सेवई र खजुरका परिकार राखिनेछ । यस बाहेक अन्य फलफुल लगायतका परिकार पनि हुनेछ आयोजकले जनाएको छ । मुख्यरुपमा विरयानी र सेवई, खजुर ईफ्तारमा धेरै प्रयोग हुन्छ । राष्ट्रपति सहभागि हुने ‘रोजा ईफ्तार’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उक्त कार्यक्रमका संयोजक अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले जानकारी दिए ।

‘राष्ट्रपति सहभागि हुने ईफ्तारको तयारीमा एक महिनादेखि नै यहाँका मुस्लिम समुदाय जुटेका थिए’ उनले भने, ‘भव्य हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ पहिलोपटक राष्ट्रप्रमुख ‘रोजा ईफ्तार’ कार्यक्रम सहभागि हुन गइरहेको भन्दै कार्यक्रम संयोजक मन्सुरीले कार्यक्रमलाई ऐतिहासिक बनाइने बताए । उनका अनुसार आज साँझ पौने ६ बजेबाट ‘रोजा ईफ्तार’ कार्यक्रम सुरु हुनेछ भने राष्ट्रपति भण्डारीको आगमन कार्यक्रम स्थलमा ठिक ६ बजे हुनेछ । मुस्लिम समुदायका पाँच स्तभ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमपा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ । राष्ट्रपतिसहित अधिकारीहरु ‘रोजा ईफ्तार’ कार्यक्रम सहभागि हुने भएपछि यहाँका मुस्लिम समुदाय भने उत्साहित बनेका छन् । त्यसैले उनीहरुले राष्ट्रप्रमुख सहित पाहुनाहरुको स्वागत सत्कारमा कुनै कमी हुन नदिने गरी तयारी गरेका छन् ।

सुरक्षा व्यवस्था कडा राष्ट्रपति भण्डारी नेपालगन्ज आउने भएसँगै यस क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । नेपालगन्जमा राष्ट्रपति भण्डारी आउने भएपछि सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ‘राष्ट्रपती आउने भएसँगै केही दिनयता नै यस क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिसकिएको छ’ बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले भने, ‘यसका लागी सुरक्षा योजना बनाएर नै लागू गरिएको छ ।’ राष्ट्रपतीको सुरक्षालाई मध्यनगर गर्दै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले ठूलो संख्यामा सादा पोशाकमा समेत सुरक्षाकर्मीहरु परिचालन गरेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति भण्डारी आज दिउँसो जहाजमार्फत नेपालगन्ज विमानस्थलमा ओर्लिनेछिन् । विमानस्थलबाट उनी सोझै भुजइगाउँस्थित होटल सोल्टीमा जाने तालिका रहेको छ ।

राष्ट्रपति हिड्ने रुट, कार्यक्रम स्थल, बसोबास गर्ने स्थान लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् । ‘राष्ट्रपति आउने भएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको छ’ एसपी पौडेलले भने, ‘ठूलो मात्रामा प्रहरी परिचालनका साथै आवश्यक परेको खण्डमा चाहिने गरी सुरक्षाकर्मीलाई रिजर्ब अवस्थामा समेत राखिएको छ ।’ होटल सोल्टीबाट राष्ट्रपति कार्यक्रम स्थल बैजनाथ गाउँपालिकाको जि गाउँ र नेपालगन्जमा सवारी साधन प्रयोग गरेर जानेछिन् । त्यसैले नेपालगन्जसहित कोहलपुर, जि गाउँको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । राष्ट्रपति कार्यक्रम स्थल जाँदा र फर्किदा सुरक्षाका कारणले केही समय सवारी आगवन बन्द हुनसक्ने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २१ गते मंगलबार