बिपन्न परिवारलाई बाख्रा र कुखुराका चल्ला



कोहलपुर ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि बाख्रा र कुखुराका चल्ला बितरण गरिएको छ । बिपन्न परिवारलाई आर्थिक रुपमा बलियो बनाउने उद्वेश्यले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना’ अन्तर्गत कुखुरापालन र बाख्रापालनका लागि सो सहयोग प्रदान गरिएको थियो ।

बिहीबार एक कार्यक्रमका बिच १२ विपन्न परिवारलाई कुखुरापालन सहायता अन्तर्गत प्रति परिवार एक सय वटा कुखुराका चल्ला, खोर निर्माणका लागि ५ थान जस्ता पाता, एक बण्डल जाली र पानी खानका लागि २ ड्रम र ५ बोरा दाना वितरण गरिएको छ । त्यसैगरी ८ परिवारलाई बाख्रापालनका लागि ५ वटा बाख्रा र २ थान जस्तापाता वितरण गरिएको थियो । कुखुरापालनका प्रति परिवार ४० हजार र बाख्रापालनका लागि प्रतिपरिवार ५५ हजार रुपैयाँ बराबरको कुखुराका चल्ला, बाख्रा, जस्तापाता र दानाको सहयोग प्रदान गरिएको हो । २० परिवारलाई सो बापत करिब साढे नौ लाख रुपैयाँको सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेष र बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला बितरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले गाउँका अति विपन्न परिवारलाई छनोट गरेर कुखुरापालन र बाख्रापालनका लागि यो सहयोग उपलब्ध गराईएको बताए । यसबाट आर्थिक रुपमा बलियो हुने अवसर समेत आएको उनले दाबी गरे । ‘यो सहयोगलाई सदुपयोग गरेर राम्ररी कुखुरापालन र बाख्रापालन गर्नुपर्छ’ उनले भने, ‘त्यसो हुन सके बिपन्नको आर्थिक अवस्था सुदृढ हुनेछ ।’ वडा अध्यक्ष थारुले अब पम्परागत रुपले पशुपालन पेशा नचल्ने बताउदै आधुनिक तरिकाले पशुपालन गर्नुपर्ने बताए ।

कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेषले कतार च्यारेटीले गत ६ महिनादेखि बाँके युनेस्को क्लबसंग सहकार्य गरेर जिल्लाका बिपन्न, अनाथ र अपांगता भएकाहरुलाई विभिन्न प्रकारले सहयोग गर्दै आएको जानकारी दिए । कतार च्यारेटीको सानो सहयोगले शुरु गरेर आर्थिक रुपमा बलियो हुने संभावना रहेकोले गम्भीर भएर सहयोगलाई सदुपयोग गर्न उनले आग्रह गरे ।

कुखुरापालन र बाख्रापालनका लागि सहयोग पाउने अधिकांशले आफुहरुले यो सहयोगलाई सदुपयोग गरेर बढाउँदै लैजाने र आर्थिक रुपमा सक्षम हुने प्रतिक्रिया दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदी, बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतले सहयोगलाई सदुपयोग गरेर आर्थिक रुपमा सबल बन्नु पर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३ गते शुक्रबार