राँझामा बोटानिकल गार्डेन बन्दै



नेपालगञ्ज ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका २० राँझामा अत्याधुनिक बोटानिकल गार्डेन निर्माण हुने भएको छ । विमानस्थल नजिकै रहेको ३६ हेक्टर क्षेत्रफलमा गार्डेन निर्माण हुन लागेको हो । डिभिजन वन कार्यालय बाँके मार्फत खर्च गर्नेगरी प्रदेश ५ सरकारले गार्डेन बनाउनको लागि चालु आर्थिक बर्षमा एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ ।

अहिले वडा न २० को कार्यालयले गार्डेन निर्माणको प्रक्रियाका लागि टेण्डर समेत आह्वान गरेर पहिलो चरणको काम शुरु गर्ने तयारी गरेको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षीत गरेर निर्माण गर्न लागिएको गार्डेन दशैंसम्म सञ्चालनमा ल्याउने गरि तयारी गरिएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । नक्सासहितको बजेट शिलीङ बनाइएकाले भन्दै उनले अब केही दिनभित्रै निर्माण प्रक्रिया शुरु गरिने बताए । गार्डेनमा हरियो, आकर्षक मैदानसहित विभिन्न फूल, विरुवाहरु पनि लगाइने छन् ।

गार्डेनमा थुपै्र भौतिक संरचना पनि निर्माण हुँदैछन् । गार्डेन क्षेत्रमा पिकनीकस्थल, आवास, चौतारी, आकर्षक बत्ती लाईट, टिकट काउन्टर लगायतका संरचना बनाइने भएको हो । नेपालगञ्ज नजीक पीकनिकस्थलको अभाव भइरहेका बेला उक्त गार्डेन निर्माणले सो को परिपुर्ती गर्ने विश्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३० गते सोमबार