29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

सयपत्रीले ग¥यो जेष्ठ नागरिकलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६  

कोहलपुर ।
कोहलपुर नगरपालिका भित्रका अति विपन्न जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको छ । कोहलपुरका सक्रिय महिलाहरु आवद्ध लायन्स क्लव अफ कोहलपुर सयपत्रीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । नगरपालिका भित्रका अति विपन्न तथा अशक्त १५ जना जेष्ठ नागरिकहरुलाई गम्छा, छाता, चप्पल, ग्लुकोज लगायतका सामग्रीहरु सहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ इन्टरनेशनल २२५ बी २ का निवर्तमान अध्यक्ष मधुसुदन शर्मा कोहलपुर क्षेत्रका जेष्ठ नागरिकहरुका लागि एउटा छुटै खालको आश्रमको आवश्यकता रहेको बताए ।

घरका अन्य सदस्यहरु आ–आफ्नो काममा व्यस्त हुने भएकाले बृद्ध आमाबुवाहरुलाई एक्लै घरमा दिन बिताउन मुस्किल हुने हुँदा रमणीय वातावरण सहितको आश्रमको आवश्यकता औल्याए । उनले भने ‘घरमा एक्लै बस्दा बृद्ध आमाबुवाहरुलाई पनि दिन बिताउन मस्किल हुन्छ, उनीहरुले दिउँसोको समयमा कम्तीमा पनि त्यहाँ गएर भजन, किर्तन गर्ने, नाचगान गर्ने, आफ्ना विचाहरु आदान प्रदान गर्ने र बस्न सक्ने खालको ठाउँको आवश्यकता छ ।’

त्यसको पहल गरी अघि बढाउनका लागि लायन्स क्लव अफ कोहलपुर सयपत्रीले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए । बृद्ध अवस्थामा एक्लोपनको महशुस, अभिव्यक्तिमा फरकपन जस्ता परिवर्तनहरु आउने भएकाले घरका सदस्यहरुले परिवर्तनलाई सहजरुपमा लिनुपर्ने उनको भनाइ थियो ।

कोहलपुर वडा नं.११ का अध्यक्ष कर्ण बहादुर थापाले क्लवले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाव दिए । घरपरिवार देखि लिएर समाजमा शान्ति, सुव्यवस्था कायम गर्न महिलाहरुको महत्वपूर्ण भुमिका हुने भएकाले सक्रिय भएर लाग्न उनले आग्रह समेत गरे । कार्यक्रममा खुसी व्यक्त गर्दै ८० वर्षीय जेष्ठ नागरिक मङ्ती थारुले आफू जस्ता अशक्त तथा जेगष्ठ नागरिकहरुलाई सम्मान गरेको क्लवलाई धन्यवाद दिइन् । अन्य जेष्ठ नागरिकहरुले पनि खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्लवकी अध्यक्ष हुमकला गिरीले नेपाली समाजमा आफूभन्दा अगाडिकालाई उच्च सम्मान गर्नुपर्छ भन्ने मान्यता रहेको हुँदा सोही कुरालाई निरन्तरता दिन र पछिल्लो पुस्ताले पनि सिकुन् भन्नको लागि जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताइन् । क्लवकी सदस्य रेश्मा उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव शान्ति गैरेले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     7:28:49 AM  |