अनोज थारु, बढैयाताल बर्दिया ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा करिब ८० घर गन्धर्व समुदायको बस्ती रहेको छ । तर त्यहाँका नयाँ पुस्ताले सारङ्गीमा गाउँ सहरमा भएका घटनालाई गीत र मनोरञ्जनका माध्यमबाट सूचना दिने आफ्नो समुदायको पेसा गर्दैनन् ।
पछिल्लो समयमा गन्धर्व समुदायको पुर्खेली पेशा लोप हुन थालिसकेको छ । सुरु सुरुमा गन्धर्वले ढोलक, चिट्ठीमार्फत एक ठाउँको खबर अर्को ठाउँमा लैजाने गर्थे तर अहिले बढ्दै गएको सञ्चारमाध्यमको विकास र यो जातिका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पेसा सङ्कटमा परेको हो । सारङ्गीमा गाउँ सहरमा भएका घटनालाई गीत र मनोरञ्जनका माध्यमबाट सूचना दिने पेशा हराउदै जानको थालेको गन्धर्व युवाहरु स्वयम बताउछन् ।
दलित समुदायका रूपमा रहेको गन्धर्व जातिको पेसा अहिले नयाँ पुस्ताले आफ्नो संस्कृतिको रक्षा गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको समेत हो । ‘बाउ बाजेको पालामा गाउँ गाउँ÷ घरघरमा सारङ्गी रेटेर गित सुनाउने कला राम्रो हो’ युवा गणेश गन्धर्वले भने, ‘समयमा आएको परिवर्तनसँगै पछिल्लो समय यो पेशा उपयुक्त नभएको बताए । उनका अनुसार अब गन्धर्व समुदायको कला संस्कृतीको संरक्षण गर्न सबैजना लाग्नुपर्छ । अहिले पनी केही गन्धर्व समुदायका व्यक्तिहरु सारङ्गी बजाउँदै गाउँ देखि शहरमा पुगे भएपनी त्यो क्रम भने घट्दो क्रममा छ । गणेशले भने, ‘देशी तथा विदेशी पाहुनाका लागि सारङ्गी बजाएर मनोरञ्जन दिँदै आएका छौँ तर सरकारले यसलाई राम्रो संरक्षण नदिँदा पेसा सङ्कटमा पर्ने अवस्थामा छ ।’
पहिले गन्धर्व समुदायहरु स्थायी रुपमा बसोबास नगरेर अस्थाई रुपमा परिवार नै लिएर फरक फरक ठाउँमा बस्ने गरेका थिए । यसले आफुहरुको शिक्षामा पनी असर पारिरहेको अर्का युवा गगन गन्धर्वले बताए । ‘अहिले हातमा न सिप छ, नत पढाई’ उनले भने, ‘सामान्य लेखपढ नहुँदा कम्पनीमा लेवरको काम पाउन समेत गाह्रो छ ।’ २०५२ सालमा तत्कालिन सरकारले प्रतिपरिवारलाई २ कोठाको घर र व्यक्ति पिच्छे १÷१ कट्ठा जग्गा समेत वितरण गरेको थियो । परिवारको संख्या बढेपछि अहिले गाँस, बास र कपासको आवश्यता बढेसँगै पुर्खैली पेशा छोडेर भारतमा काम गर्न जाने गरेका छन् ।
‘धेरै युवाहरु परिवार पाल्नको लागी काम खोज्दै भारततीर जाने गरेका छन्’ युवा हेमन्त गन्दर्वले भने,‘समुदायका युवतीहरु सानै उमेरमा विवाह गरेर जाने गरेका छन् ।’ बढैयाताल गाउँवपालिका उपाध्यक्ष दिपाकुमारी गौतमले संघिय सरकारले भुमिहिनहरुको लागि छुट्टै कानुन बनाएपछि आफुहरुले गन्धर्व समुदायलाई बसोबासको व्यवस्था गर्ने बताइन् । उक्त समुदायका पेशा संरक्षणमा समेत आफुहरुले ध्यान दिने उनले दाबी गरिन् । देशको कुल जनसंख्यामध्ये छ हजार जनसंख्या रहेको गन्धर्व जाति ५६ जिल्लामा बसोबास गर्दै आएको छ । यो नेपालको शताब्दीऔँ पुरानो जाति मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्