29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

राजमार्गमा टिपर आतंकः ट्राफिक प्रहरी मौन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६  

कृष्ण ओली । कोहलपुर ।
गत शुक्रबार दिउँसो कोहलपुर कुसुम सडक खण्डको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज नजिकै टिपरले कारलाई ठक्कर दियो ।

स्थानीय खोलाबाट निर्माण सामग्री लिएर कोहलपुर तर्फ आउँदै गरेको रा १ ख १३६७ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको बा १८ च २३७९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार तिव्र गतीमा रहेको टिपरले बसलाई ओभरटेक गर्ने क्रममा आफ्नै लेनमा रहेको कारलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर कारमा सवार दुई जना घाइते भए ।

टिपर चालक भने घाइतेलाई उपचारको लागि अस्पताल लैजानुको साटो फरार भए । त्यसैगरी गत चैत्र २५ गते दिउँसो टिपरले कोहलपुर–नेपालगन्ज सडक खण्डको त्रिभुवन मावि अगाडि मोटरसाइकललाई ठक्कर दियो । तिव्र गतीमा रहेको टिपरले ट्राफिक प्रहरीकै अगाडि मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तिव्र गतीमा नेपालगन्ज तर्फ गइरहेको रा १ ख १३३९ नम्बरको टिपरले भे ७ प ५९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका थिए । मोटरसाइकललाई टिपरले किचेपनी मोटरसाइकल चालक राम दयाल चौधरी घाइते भए ।

यी दुई त टिपरका कारण बाँकेमा भएका प्रतिनिधिमुलक दुर्घटना मात्र हुन् । पछिल्लो समय जिल्लामा टिप्परका कारण भएका दुर्घटना बढ्दै जान थालेका छन् । अन्धाधुन्ध तिव्र गतिमा आउने टिपरले कतिबेला ठक्कर दिने हो र दुर्घटना हुने हो पत्तै हुँदैन । सवारी मात्रै होइन, अनियन्त्रीत टिप्परका कारण आम सर्वसाधारण सडकमा पैदल हिड्नसमेत डराउने गरेका छन् ।

विकास निर्माणका कामहरु बढेसँगै निर्माण सामग्री ओसार्नको लागि टिपरको प्रयोग बढिरहेको छ । जिल्लाका सडकहरुमा दैनिक सयौं टिपरहरु सञ्चालन हुने गर्दछन् । तिव्र गतीमा चल्ने टिपरहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्न नसक्दा यात्रुहरु त्रसित हुन परिरहेको छ ।

‘तिव्र गतीमा गुद्ने टिपरका कारण सडकमा मोटरसाइकल चलाउँदा डराउनुपर्ने अवस्था छ’ कोहलपुरका हर्क महतराले भने, ‘बजार, स्कुल, बस्ती क्षेत्रमा तिव्र गतीमा हाँक्ने टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको देखिदैन ।’

टिपर देख्नेबित्तिकै अहिले सडकबाट आफै साइट लाग्नुपर्ने अवस्था रहेको उनले बताए । ओभरलोड सामग्रीसहित आएका टिप्परले कहिले मध्य सडकमा सामान खसाल्ने त कहिले ओभरटेक गरेर अरु सवारीलाई दुर्घटनामा पर्न बाध्य पार्ने गरेका छन् ।

यसरी मनपरी चलाउने टिप्पर चालकहरु प्रहरी अगाडि तिब्र गतिमा गुडाउँदा पनि प्रहरी भने मौन हुन्छ । छड्के जाँच गर्ने नाउमा एकान्त बाटोमा गाडि रोकेर जाँच गर्ने ट्राफिक प्रहरी व्यस्त सडकमा अन्धाधुन्ध चलाउँदा पनि मौन बसेको नागरिकको गुनासो छ ।

भिम बहादुर खत्री सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘यो टिपर आतंक अति भो बाटोमा हिड्न नि नपाईने बाटोमा मान्छे, साईकिल र मोटरसाईकिल हिड्ने बेला झन् स्पिडमा टिपर कुदाउने ।’

यसले पनी देखाउछ की राजमार्गमा टिपरको आतंक कसरी बढिरहेको छ भनेर । ट्राफिक नियम कार्यान्यनको जिम्मा पाएको ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउनेलाई कारबाही गर्नको साटो संरक्षण गरिरहेको स्रोतको दाबी गरेको छ ।

यता जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका निमित्त प्रमूख प्रहरी नायव निरीक्षक ओम पौडेलले राजमार्गमा टिपरको आतंक नभएको बताए । ‘सडकमा टिपरले नियम विपरित चलाएको जस्तो लाग्दैन’ उनले भने,‘ कतै ट्राफिकको आँखा छलेर चलाएका पनी हुनसक्छन् ।’

‘टिपर आतंक बारे जानकारी दिएकोमा तपाईलाई धन्यावाद छ’ निमित्त प्रमूख प्रहरी नायव निरीक्षक पौडेलले भने,‘केही दिनमा नै तपाईले सत प्रतिशत रिजल्ट पाउनुहुनेछ ।’

प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६     6:46:44 PM  |