कर्णालीबासीलाई लुम्बिनी घुम्न निम्तो



सुर्खेत ।
बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको प्रदेश ५ सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत प्रदेशबासीलाई निम्तो दिएको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई प्रदेश ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे । लुम्बिनी भ्रमणको निम्तो ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताए ।

‘आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्ण रुपमा साथ दिनेछ, उनले भने– म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीको बारेमा धेरै जानकारी लिनुपर्नेछ ।’ मन्त्री बुुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काक्रेविहारलगायत बौद्धस्थलहरुको प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने बताए । कर्णाली रारा भ्रमण वर्ष मनाएर धेरै कुरा सिक्ने मौका पाएको भन्दै उनले आगामी दिनमा कर्णालीमा पर्यटक आगमन वृद्धि भएको र आगामी दिनमा प्रवद्र्धनात्मक कार्यक्रमका साथसाथै भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताए । मन्त्री बुढाले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्यांक संकलनलाई व्यवस्थित गर्नेमा जोड दिदै छिटै नै कर्णालीका १ सय १ वटा पर्यटकीय स्थलहरु घोषणा गर्ने र ती स्थलहरुको भौतिक पूर्वाधार र प्रवद्र्धनको कार्यक्रम थाल्ने बताए । कर्णाली प्रदेशमा बौद्धगुम्बा र पर्यटकीय स्थलहरु रहेको भन्दै मन्त्री बुढाले लुम्बिनीसँग जोडेर प्रचारप्रसार गर्ने र पर्यटक आगमनलाई वृद्धि गर्ने बताए । प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री बुढाले बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रचार प्रसार सचिवालय सदस्य प्रदीप आचार्यले लुम्बिनी घुम्न आएर कम्तीमा ३ दिन बिताउन अनुरोध गरे ।

‘कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो–आचार्यले भने । लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकारहरु गणेश ओली, श्रीधर पौडेल, दीपक जैसी, धर्मराज जिसी, पुरुषोत्तम सापकोटा, खगेन्द्र अधिकारी, सुरजकुमार सिंहलगायतले बोल्दै लुम्बिनी आउने पर्यटकलाई काक्रेबिहार क्षेत्र, रारा ताल, सेफोक्सुण्डो ताल, दहहरु, दैलेख, सिंजा र अरु पर्यटकीय स्थलमा पर्यटक आउने गरी समन्वयकारी काम गर्नुपर्ने बताए । उनीहरुले भौतिक पूर्वाधारमा पनि चासो दिएर लुम्बिनी गुरुयोजना छिटै सम्पन्न गर्न सुझाव दिए ।
स्तो छ भ्रमण वर्षको कार्यक्रम
सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएका थिए । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिएका थिए । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको
छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरुलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको हो । बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौेराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पु¥याउने उद्देश्य सहित प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ ।

भ्रमण वर्षको कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो । प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए । पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ । भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी. पी. खनालले जानकारी दिए ।

लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए । यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने प्रचार प्रसार उपसमिति सदस्य मनिष पन्तले बताए । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ । २२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख १७ गते मंगलबार