कोहलपुर ।
आइतबार बाँके र बर्दियामा भएका छुट्टाछुट्टै दुर्घटना परेर ४ जनाको ज्यान गएको छ । पुर्व पश्चिम लोकमार्र्ग अन्तरर्गत बर्दियाको बारबर्दियामा दुई मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु भएको छ भने नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको हो । बर्दिया प्रहरीका अनुसार बारबर्दिया नगरपालिका–९ बनगईंमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा तीन जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा बर्दिया मधुवन नगरपालिका–१ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी उनकी बहिनी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का खगेन्द्र बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए । उनीहरुमध्ये दाईबहिनीको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको भे. ८ प. ६९६८ र बिपरित दिशाबाट आइरहेको बा. ९१ प. ९३७७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको कारकाँदोमा बा. ८ ख. १६८४ नम्बरको ट्रकको ठक्करबाट बलराम मिश्रको मृत्यू भएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।