3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

उद्घाटन अगाडी नै खेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १८, २०७५  

कोहलपुर ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आउदो बैशाख ५ गते बाँकेको नेपालगन्ज रंगशालामा भव्यताका साथ हुदै छ । प्रतियोगिताको ५ गते उद्घाटन हुने भएपनी प्रतियोगितामा समावेश भएका केही खेलहरु भने चैत्र २७ गतेबाट नै सुरु हुन गइरहेका छन् ।

आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले उद्घाटन पुर्व नै १३ वटा विभिन्न खेलहरु सुरु हुने जानकारी दिए । ‘५ गते औपचारिक रुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य रुपमा उद्घाटन गरिने छ,’ उनले भने, ‘उद्घाटन पुर्व नै विभिन्न खेलहरु सुरु गरिने तालिका रहेको छ ।’ समय र मौसमलाई मध्यनजर गर्दै उद्घाटन अगाडि चैत्र २७ गतेबाट प्रतियोगितामा समावेश खेलहरु सञ्चालन गर्न लागिएको राखेपका सदस्य सचिव बिष्टले जानकारी दिए । ‘उद्घाटन पुर्व खेलाइने खेलहरुको सम्पूर्ण तयारी पूरा भइसकेको छ’ उनले भने,‘यसपटक आठौंको रौनक उद्घाटन पुर्व समेत देख्न पाइन्छ ।’

राखेपका सदस्य सचिव विष्टका अनुसार महिला पुरुष फुटबल, बास्केटबल, हस्की, खो खो तथा प्याराग्लाइडिङ, फेन्सिङ, पुरुष क्रिकेट, सफ्ट टेनिस, सुटिङ, जुडो, ब्याडमिन्टन, टेबल टेनिस र बक्सिङ खेल उद्घाटन पुर्व सुरु हुनेछन् । प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको राखेपले जनाएको छ । प्रतियोगितामा कुल ३५ खेलमा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी रहेका छन् । यस्तै ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापक रहनेछन् ।  प्रतियोगिता संचालन गर्न ९२२ राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक रहने राखेपले जनाएको छ ।  प्रतियोगितामा खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् ।

त्यस्तै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् । प्रतियोगिताको उद्घाटन र समापन नेपालगंज रंगशालामा हुनेछ  । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने सदस्य सचिव बिष्टले बताए ।

प्रकाशित मितिः सोमवार, चैत्र १८, २०७५     6:28:46 AM  |