कृष्ण ओली । कोहलपुर । कोहलपुर नगरविकास समितिले आफ्नो नामको घडेरी बिक्री गर्न सूचना आह्वान नै गरेर पैसा बुझे पनि अहिलेसम्म खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छैन । एक वर्षअघि नै बोलपत्र आह्वान गरेर रकम बुझेको नगरविकास समितिले हालसम्म घडेरी उपलब्ध नगराएको पाइएको छ ।
गत २०७४ असोज २३ गते समितिले घडेरी बिक्रीको बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको थियो । समितिले उक्त समयमा दोस्रो र तेस्रो चरणका २० वटा घडेरी बिक्री वितरण गर्ने भन्दै बोलपत्र आह्वानको सूचना जारी गरिएको थियो । बोलपत्र आह्वानको माध्यमबाट छनोट भएका व्यक्तिहरुलाई समितिले घडेरी बिक्री ग¥यो । तर समितिले रकम बुझे पनि आधा मात्रै खरिदकर्तालाई घडेरी उपलब्ध गराएको पाइएको छ ।

बिक्री गरिएका २० वटा घडेरी मध्ये समितीले एक वर्षसम्म पनि १० जना घडेरी धनिहरुलाई घडेरी उपलब्ध गराउन सकेको छैन । यतीबेला सूचना निकालेर बिक्री गरेका १० वटा विभिन्न प्लट नम्बरका घडेरीहरुमा अवैध रुपमा टहरा बनेकाले घडेरी धनीहरुले आफुले खरिद गरेको घडेरी पाउन सकेका छैनन् । समितिले पैसा लिएको एक वर्षसम्म पनि अतिक्रमित घडेरीहरु खाली गराउन नसकेको भन्दै घडेरी धनिहरु भने आक्रोशित भएका छन् ।
ऋणधन गरेर घडेरी किनेर घर बनाउने सपना लिएका उनिहरुले नगर विकास समितिले एक वर्षसम्म पनि घडेरी खाली नगरिदिएपछि घर बनाउन सकेका छैनन् । घडेरी किनेका अर्जुन पनेरुले कोहलपुर नगर विकास समितिका कारण आफुहरुले आफ्नो घडेरीमा घर बनाउन नपाएको दुखेसो गरे । ‘घडेरीको पैसा बुझाएको वर्षदिन भइसक्यो, अँझै समितिले घडेरी खाली गराउने कुनै संकेत देखाएको छैन’ उनले भने, ‘घडेरी उपलब्ध गराउन सबैतिर धाउदासमेत सुनुवाई भएको छैन ।’
कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापाले पैसा लिइसकेपछि सम्बन्धित व्यक्ति तथा संस्थालाई जग्गा खाली गराउने दायित्व नगर विकास समितिकै हुने बताए । ‘नागरिकले ऋण धन गरेर घडेरी खरिदका लागि समितीिाई पैसा बुझाएका छन्’ अध्यक्ष थापाले भने, ‘समितिले बिक्री गरेका घडेरी जसरी भए पनि खाली गराईदिनुपर्छ, वर्षांैदेखि घडेरीमा लगानी गरेको पैसाको ब्याज बैंकमा तिरिरहनुपर्ने तर घडेरी चाही नपाउने भन्ने कुरो हुन सक्दैन ।
पैसा तिरेका जग्गामा धनीले आफुले चाहेअनुसार प्रयोग गर्न पाउनुपर्छ ।’ तेश्रो चरणमा रहेका प्लट नम्बरहरु २४०, २४४, २४३, २६८, ३५५, ३४४, ३५१, ३५२, ३५३ र ३५४ मा बनेका घर टहरा १५ दिनभित्र खाली गर्न गत पुसको अन्तिम साता कोहलपुर नगर विकास समितिले सूचना जारी गरेको थियो । समितिले अतिक्रमित संरचना हटाउन पटक पटक सूचना निकाले पनि अवैध रुपमा घर टहरा बनाएर बसेकाहरुले भने नगर विकास समितिको अनुरोधलाई टेरेका छैनन् । समितीले पैसा लिएका घडेरीहरु खाली गराएर सम्बन्धित धनीलाई उपलब्ध गराउनको साटो सूचना मात्र जारी गरेर औपचारिकता निभाएको पीडितहरुको गुनासो छ ।
केशव कोइरालाले नगर विकास समितिले आफुहरुले किनेका घडेरीहरु खाली नगराउँदा पैसा बुझाए पनि प्रयोग गर्न नपाएको बताए । ‘नक्सा हेरेर टेण्डर प्रक्रियामा सामेल भएर घडेरी खरिद गरेका हौं’ उनले भने, ‘बैंकबाट ऋण लिएर समितिलाई जग्गाको रकम बुझायौं, तर अहिले नगर विकास समितिका कारण न हामीले जग्गा नै प्रयोग गर्न पाएका छौं । न त त्यहाँ आवश्यकता अनुसार संचरना खडा गर्न नै पाएका छौं ।’ यता कोहलपुर नगर विकास समितीका सदस्य सचिव सुनिल ठाकुरले बिक्री गरिएका एक÷दुई वटा प्लट कब्जा गरेर केही व्यक्तिहरु बसेकाले समस्या भएको बताए । उनले यस बिषयमा थप कुरा आफुलाई थाहा नभएको भन्दै समितिका अध्यक्ष अवराज खड्कालाई सोध्न आग्रह गरे ।
समितीका अध्यक्ष खड्काले कोहलपुर नगरपालिकाका मेयर आउने बित्तिकै सबै समस्याको समाधान हुने बताए । ‘समाधान भइसकेको बिषयमा राजनीती पस्दा जग्गा उपलब्ध गराउन समस्या उत्पन्न भएको हो’ उनले भने, ‘अब प्रशासनको सहयोग लिएर भए पनि बिक्री भएको जग्गा खाली गराउँछौं ।’ समितिले बिक्री गरेका विभिन्न प्लटहरु खाली गराउने विभिन्न समयमा सहमति भए पनि कार्यान्वयनमा भने लागु हुन सकेको छैन ।