8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १२, २०७५  

महासचिव नेत्रविक्रम चन्द विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सरकारले आफ्ना नेता कार्यकर्ताको धरपकड गरेको विरोधमा चैत १३ देखि २४ गतेसम्म संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।

आज पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संघर्षका कार्यक्रमसहितको विज्ञप्ति जारी गरेको हो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो पार्टीका स्थायी समिति सदस्य एवं मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ। केपी वली सरकारको यो फासीवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनकाविरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार’ आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

नेकपाले चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने कार्यक्रम राखेको छ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १२, २०७५     7:56:20 AM  |