नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा आजदेखि प्रथम अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता २०७५ सुरु हुदैछ ।
बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा प्रथम अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता हुन गइरहेको हो । मंगल प्रसाद माविमा सञ्चालन हुने प्रतियोगितामा १४ माविका टिम सहभागी हुने प्रतियोगिताका संयोजक एवं प्रशिक्षक जमील अन्सारीले जानकारी दिए ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अवगत जानकारी दिएको थियो । छात्र प्रतियोगिताका लागि तीन लाख वजेट छुट्याएको उपमहानगरपालिकाले छात्रा क्रिकेट तालिम र प्रतियोगिताका लागि छ लाख सहयोग गरेको संघले जनाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख डा.धवल शमशेर राणाले महिला क्रिकेटको उदगमस्थल नेपालगञ्जमा क्रिकेट विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइने बताए । उपप्रमुख उमा थापा मगरले क्रिकेट सुधारका लागि प्रतियोगितासँगै मैदान लगायतका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइने उदघोष गरिन् ।
२८ गतेसम्म चल्ने प्रतियोगितामा विहान र साँझ गरि दुई वटा खेल खेलाईने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने उनले जानकारी दिए ।
आजको उद्घाटन खेल सरस्वती माबि र वेस्ट जोनबिच हुनेछ ।









प्रतिक्रिया दिनुहोस्