राप्तीसोनारीको बहुउद्देशीय आश्रय



कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका ३ साईपुर गाउँमा जिल्लामा नै पहिलोपटक प्राकृतिक विपद्बाट पीडित ब्यक्तिलाई लक्षित गरेर ‘‘बहुउद्देशीय आश्रय केन्द्र” निर्माण गरिएको छ । कुल ८४ लाख ९५ हजार ३ सय २९ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा राप्तीसोनारी गाउँपालिकाले १७ लाख रूपैयाँ लगानी गरेको छ ।

तराई भु–परिधी कार्यक्रम र वन तथा वातावरण संरक्षण समन्वय समितिले निर्माणमा ५४ लाख ३१ हजार ३ सय ३० तथा ९ लाख ७४ हजार ९५ रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ । यसैगरी स्थानीय बासिन्दाले ३ लाख ८९ हजार ९ सय ४ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । उक्त भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

भवनमा ठुलो हलसहित महिला र पुरुष शौचालय, धारा, सोलार प्यानल लगायत पुर्वाधार रहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । नवनिर्मित भवनलाई बहुउद्देशीय काममा प्रयोग गर्न उनले स्थानीयबासीलाई आग्रह समेत गरे । राप्तीको बाढीबाट गाउँपालिकामा रहेका सबै वडा जोखिममा रहेको बताउँदै यस्ता भवन सबै वडामा बनाउनुपर्ने आवश्यकता रहेको गाउँपालिका प्रमुख थारुले बताए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी गाउँपालिका सम्पदाको हिसाबले धनी भएपनि प्राकृतिक विपदको धेरै जोखिममा रहेको दाबी गरिन् । ‘‘बाढीको पुर्व तयारीका लागि जुन भवन बनेको छ, यहाँका बासिन्दा एकदमै खुसी हुनुहुन्छ,” उनले भनिन् । वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीले सबैको सहकार्यबाट बाढीको उच्च जोखिम रहेको क्षेत्रमा आश्रय केन्द्र निर्माण गर्ने कार्यले पुर्णता पाएको बताए ।

‘‘अत्यन्त जोखिम क्षेत्र छानेर यो ठाउँमा आश्रय केन्द्र स्थापना गरेका हौं,” खत्रीले भने । कार्यक्रममा डब्लु डब्लु एफ क्यानडाका प्रमुख कार्यकारी अधिकृत मेगन अनिसा लेस्ली, डब्लु डब्लु एफ नेपालका डा. घनश्याम गुरुङ, समन्वय समितिका सचिव यमबहादुर बोहराले बोलेका थिए । उद्घाटन समारोहमा शुक्रबार स्थानियहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १८ गते शनिबार