साझाका पदाधिकारीहरुलाई नेकपाको बधाई तथा सम्मान



कोहलपुर ।
नेकपा नगर कमिटी कोहलपुरले श्री सहकारि संस्था (साझा) का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
केही दिनअघि मात्र सम्पन्न भएको निर्वाचनबाट विजयी भएका साझाका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नेकपा कोहलपुर कमिटीले बधाई तथा सम्मान गरेको हो । नेकपा निकटको प्यानलबाट निर्वाचित भएका आठ जनालाई बधाई तथा सम्मान सहित सफल कार्यकालको शुभकामना दिइएको नगर कमिटी सचिव तुलाराज विष्ट (बिहानी) ले जानकारी दिए । साझाका अध्यक्ष सहित अन्य पदाधिकारी तथा सदस्यहरुलाई खादा र अबिर लगाएर सम्मान गरिएको थियो ।

नेकपा नगर कमिटी कोहलपुर अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र पाण्डे, प्रदेश सांसद कृष्णा केसी (नमुना), कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
साझालाई किसानमुखी संस्थाको रुपमा विकास गर्न उनीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह समेत गरे ।  केही दिनअघि सम्पन्न भएको साझाको निर्वाचनबाट अध्यक्षमा पारसनाथ थारु, उपाध्यक्षमा राजमोहन थारु, जिल्ला प्रतिनिधीमा गंगा बहादुर डाँगी, सञ्चालन समितीको सदस्यहरुमा पशुपति थारू, उषा थापा, भगन थारू, डम्बर खड्का, लेखा संयोजकमा काली बहादुर ओली, सदस्यहरूमा दिलबहादुर वेडुवा र मन्जु सत्याल निर्वाचित भएका थिए ।

यसैबिच सोही कार्यक्रममा मृगौला पिडित पुर्व जनमुक्ती सेनाका कमाण्डर नरेन्द्र बोहरालाई आर्थिक सहयोग समेत गरिएको थियो । राप्तीसोनारी गाउँपालिका २ टिकुलीपुरका बासिन्दा बोहरालाई १४ हजार १ सय ७५ रुपैया आर्थिक सहयोग गरिएको नगर कमिटी सचिव विष्टले जानकारी दिए । उनका अनुसार बोहराका दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक संकलन अभियान समेत सुरु गरिएको छ ।

अभियानको पहिलो दिन संकलन भएको रकम नेकपा कोहलपुर नगर समिटि अध्यक्ष बसन्ती अधिकारीले बोहराकी श्रीमती रमा बोहरालाई हस्तान्तरण गरेकी थिइन् । नेकपा कोहलपुर नगर कमिटीले बल बहादुर खड्काको नेतृत्वमा नरेन्द्र बचाउ अभियान समेत बनाएको छ । उक्त समितीमा नगरकमिटी सदस्य कुश्माखर बस्याल र तेजप्रसाद अधिकारी समेत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १२ गते आइतबार