कोहलपुर/ कोहलपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको मर्मविपरित महोत्सव सञ्चालन गर्न लागेको भन्दै वस्तुगत संघ–संगठनहरुले आपत्ति जनाएका छन् ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुर औद्योगिक व्यापार मेला, फूड फेस्टिवल तथा पर्यटन महोत्सव २०७५ सञ्चालनका लागि उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके बीच कर्तिक ३० गते भएको निर्णयहरु समेत खारेजी गर्न माग गरेका छन् । उक्त निर्णयहरु खारेजी गरी आफ्ना मागहरु पुरा नगरे आन्दोलनमा उत्रने सम्मको चेतावनी उनीहरुले दिएका छन् ।
कोहलपुर कपडा व्यवसायी संघसहित विभिन्न वस्तुगत संगठनहरुद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्तीमा भनिएको छ–‘कोहलपुर उद्योग वाणिज्य संघ एउटा आम व्यापारी तथा वस्तुगत संगठनहरुको छाता संगठन रहेकोमा हाल आएर आफूखुसी रुपले आम व्यापारीहरुको मनोभावना नै नबुझी व्यापारीहरुलाई कुठाराघात गरी कुनै एउटा वस्तुगत संगठनलाई काखी च्यापी औद्योगिक व्यापार मेला जस्तो महान कार्यको निर्णय गरेकोमा हामी अन्य सम्पूर्ण वस्तुगत संगठनहरुको घोर आपत्ति तथा उक्त निर्णयप्रति दुःख व्यक्त गर्दछौँ । साथै उद्योग वाणिज्य संघले मेलाका विषयमा गरेका निर्णय तत्काल बदर गरी हाम्रा मागहरु पुरा नगरे हामी सम्पूर्ण व्यापारी तथा वस्तुगत संगठनहरु आन्दोलनमा जान वाध्य हुनेछौँ ।’
उनीहरुले उद्योग वाणिज्य संघले आफ्नो मान, प्रतिष्ठा र इज्जत तथा आफ्नो काम, कर्तव्य र अधिकारको पालना गर्नुपर्ने, उद्योग वााणिज्य संघले मेलाका विषयमा गरेको सम्झौता तथा निर्णयहरु तत्काल खारेज गरिनु पर्ने लगायतका विभिन्न ६ बुँदे मागहरु समेत राखेका छन् । आफ्ना मागहरुप्रति वाणिज्य संघले बेवास्ता गरेमा सम्पूर्ण व्यापारी तथा वस्तुगत संगठनहरु वाध्य भएर उद्योग वाणिज्य संघको सदस्यता त्यागी चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्