राप्तीसोनारी,(बाँके)/ न्यायिक समिति संघ बाँकेको आठौं ‘मोबाईल’ बैठक बुधबार राप्तीसोनारी गाउँपालिका कार्यालय अगैयामा सम्पन्न भएको छ । संघका संयोजक एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
उक्त बैठकले उपमहानगरपालिका, नगरपालिका र ६ वटै गाउँपालिकाले यथाशिघ्र मेलमिलापकर्ता तालिम सञ्चालन गर्ने र मेलमिलापकर्ता सूचीकृत गरी सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै उपप्रमुख र उपाध्यक्षले पाएको न्याय सम्पादन लगायत अन्य जिम्मेवारीहरुको अनुभव आदान प्रदान गर्न अन्तर पालिका स्तरीय अध्ययन अवलोकन भ्रमणका लागि आ–आफ्नो पालिकासँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी बैठकले उपप्रमुख र उपाध्यक्षको न्याय सम्पादन लगायतका जिम्मेवारीहरु प्रभावकारी कार्य सम्पादनका लागि तालिमको आयोजना गर्न सहयोगी संघ, संस्था र सबै पालिकामा समन्वय र सहकार्यका लागि आग्रह गर्ने गरेको छ ।
बैठकमा सहभागी हुन कार्यालयमा पुगेका उपप्रमुख तथा उपाध्यक्षलाई राप्तीसोनारी गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बीच स्वागत गरेको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्रबहादुर केसीले अबिरसहित माला र दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेर स्वागत गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख थापा, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकमारी चौधरी, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी(विश्वकर्मा), खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिक, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा वानो र नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीकुमारी श्रीवास्तवलाई स्वागत गरिएको थियो ।
सो क्रममा न्यायिक समिति संघका पदाधिकारीले राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुलाई गम्छा र मालाले सम्मान गरेका थिए ।