बुचापुरमा मुख्य हात्तीसार कायम गर्न स्थानीयको माग



कोहलपुर/  बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र अन्र्तगत पर्ने बुचापुरमा मुख्य हात्तीसार राख्नुपर्ने स्थानीयले माग गरेका छन् । मंगलबार प्रदेश नं. ५ की प्रदेश सांसद कृष्णा के.सी. नमुना तथा पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले बुचापुरलाई मुख्य हात्तीसारका रुपमा कायम गर्न माग गरेका हुन् ।

निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने बुचापुर र खड्गवार र चगाईनालामा हात्तीसार निमार्ण गरेकोमा चगाईनालमा निमार्ण गरिएको हात्तीसारलाई हटाई बुचापुर र खड्कवारलाई हात्तीसार कायम गर्न माग गरेका हुन् ।

कार्यक्रम बोल्दै बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्रनन्द उपाध्यायले केही पहुँचवाला व्यक्तिहरुले हात्तीसार सार्न खोजेको भन्दै जसरी भएपनि बाँके राष्ट्रिय निकुञ्जको मुख्य हात्तीसार बुचापुरमा राखिनुपर्ने बताए ।

चगाईनालामा निमार्ण गरिएको हात्तीसार स्थानीयबासीको हित विपरित भएको भन्दै दुई ठाँउमा मात्र हात्तीसार कायम गरिनुपर्ने बताए । यहाँ हात्तीसारका लागि सबै कुरा उपयुक्त हुदाँ हुदै चगाईनालामा निमार्ण गरिएको हात्तीसारको कुनै औचित्य छैन उनले भने ।

त्यस्तै ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव रोशन कुमार वलीले मध्यवर्ती क्षेत्र बाहिरका केही व्यक्तिहरुले चगाईनालामा हात्तीसार बनाउन चलखेल गरेको बताए । ‘जङ्गली जनावरबाट प्रत्यक्ष रुपमा पीडित किसानहरु यहाँका हुन निकुञ्जको मुख्य हात्तीसारको यहाँ कायम गरिनु पर्दछ’ उनले भने ।

त्यस्तै प्रगतिशिल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दल बहादुर खड्काले हात्तीका घाँस, पानी तथा अन्य कुराहरुमा समेत बुचापुर उपयुक्त स्थान भएको हुँदा बुचापुरमा हात्तीसार बुचापुरमै हुनुपर्ने बताए । त्यस्तै ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्य भद्र बहादुर के.सीले हात्तीसार अन्यत्र लैजानु आफुहरुको कुनै आपत्ती नभएको तर वास्तविक वन्यजन्तुबाट पीडित किसानहरुले हात्तीसार अन्यत्र सारिदा कसरी लाभ लिने भन्ने सोचनिय विषय रहेको बताए ।

‘वन्यजन्तुको क्षति यहाँका भोग्नुपर्ने तर फाईदा अन्यत्रै लिन खोज्ने यो कसरी हुन्छ’ उनले भने । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले चगांईनालमा निमार्ण गरिएको हात्तीसार हटाएर बुचापुर र खडकवारमा गरी दुई स्थानमा मात्र हात्तीसार कायम गरिनुपर्ने बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जापुनले हात्तीसार निमार्णका लागि विभागले गठन गरी पठाएको टिमले ३ ठाँउमा हात्तीसार निमार्णं गरी संचालन गर्ने भनिए बमोजिम हात्तीसार निमार्ण गरिएको बताए ।

प्रदेश सांसद कृष्णा के.सी. नमुनाले प्रत्यक्ष रुपमा प्रभावित किसानहरुलाई फाईदा पुग्ने भएको हुदाँ बुचापुरमा रहेको हात्तीसारलाई मुख्य हात्तीसारका रुपमा कायम गरिनुपर्ने बताइन् ।

चगाईनालामा निमार्ण गरिएको निकुञ्जको पोष्टको तथा अन्य प्रायोजन गर्न रुपमा प्रयोग सकिने बताउँदै आफु पनि स्थानीयबासी भएका कारण किसानहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै सो विषयमा पहल गर्ने बताएकी छिन् । बाँके राष्ट्रिय निकुञ्जको हात्तीसारमा १० वटा हात्तीको दरबन्दी रहेकोमा हाल ४ वटा हात्ती रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १४ गते बुधबार