सांसद ‘अथक’ द्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन



राप्तीसोनारी (बाँके)/   बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वरराज गहतराज ‘अथक’ ले बुधबार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

सांसद अथकले राप्तीसोनारी गाउँपालिका वडा नं. २ को राजपुर गाउँको अनुगमन गरी पीडित स्थानीय नागरिकहरुसँग अन्तरक्रिया गरेका थिए । बाँकेको सबै भन्दा धेरै बाढी प्रभावित सो गाउँ हाल बगरमा परिणत भएको छ ।

अनुगमनका क्रममा स्थानीय बासिन्दाका पीरमर्का सुन्दै सांसद गहतराजले राजपुरको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

गत असोज १८ गते वन मन्त्री शक्ति बहादुर बस्नेत र गृहमन्त्री रामबहादुर थापासँग भेटेर राजपुर वस्तीलाई स्थानान्तरण गर्ने बिषयमा छलफल गर्नुका साथै लिखित रुपमा सिफारिस समेत गरेको सांसद गहतराजले बताए ।

सो अवसरमा स्थानीय बासिन्दाले बाढी नियन्त्रणलगायत अन्य विकास निर्माणका लागि सांसद गहतराजको ध्यानाकर्षण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ८ गते बिहीबार