20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लागू औषध नियन्त्रणका लागि ‘नागरिकसंँग एक मिनेट’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

नेपालगञ्ज/  बाँके प्रहरीले लागू औषध नियन्त्रणका लागि ‘नागरिकसंँग एक मिनेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लागू औषध दुव्र्यशनी नियन्त्रण गर्ने उद्देश्यका साथ परिक्षणको रुपमा एक महिनाको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले लागू औषधका विरुद्ध प्रहरीले एक महिनाको लागि बाटोमा हिड्ने पैदल यात्री तथा अन्य सार्वजनिक ठाँउमा लागू औषध विरुद्धको सचेतना अभियान अन्तरगत सो कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘कार्यक्रमको प्रभावकारिता हेरी बढाउन सकिने गरी हाललाई एक महिनाको ‘नागरिकसंँग एक मिनेट’ कार्यक्रम ल्याएका हौ’–उनले भने–‘यो अभियान मानिसहरु आवत जावत गर्ने ठाँउ, सार्वजनिक ठाँउ , पैदल यात्रु र नगर बसका यात्रुलाई लक्षित गरी लागू औषधका विभिन्न कानूनी अड्चन, त्यसले पुराउने सामाजिक आर्थिक र अन्य बेफाईदाका बारेमा प्रहरीले उनीहरुलाई सम्झाउने र विभिन्न खालको सचेतनामूलक पोस्टर, पम्पलेट, स्टिकर वितरण गर्ने गरी एक महिनाको लागि सञ्चालनमा ल्याईएको हो ।’

उनले लागू औषध खुला सीमाको कारण समस्याकै रुपमा रहेको र मानिसहरुले आफ्नो शरिर, मोटरसाईकलको विभिन्न स्थान, हेल्मेट, विभिन्न घरायशी सामानमा समेत राखेर ल्याउने गरेको जानकारी दिदै उनले भने–‘ खुला सीमाका कारण लागू औषधको नियन्त्रणको लागि अत्यन्तै चुनौतीपूर्ण रहेको छ । यो एक सांगठनिक अपराध भएको कारणले तलको संयन्त्रसंगको सूचना माथिका संग नहुने भएकोले पनि मुख्य कारोबारी पक्राउ पर्न कठिन हुने गरेको छ ।’

उनले प्रहरी सक्रियताका कारण नेपालगञ्जको न्यूरोडबाट ठूलो कारोबारीको रुपमा रहेको अरुणकुमार जैशवालका साथबाट २४ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको जानकारी दिए । यसैगरी सुर्खेतका जीवन सोमई नेपाली सेनाका लेसनायकका साथबाट ४ ग्राम र उनका साथी निरज राईबाट १ ग्राम समेत नियन्त्रणमा लिएर मुद्दा दायर भएको छ ।

प्रहरी उपरीक्षक पौडेलले चालु आर्थिक वर्षको तीन महिनामा मात्र लागू औषधका ६२ मुद्दामा १ सय जनालाई १ सय ४८ ग्राम ९ सय २४ मिलिग्राम ब्राउन सुगर, ३६ ग्राम चरेश, ३ सय ग्राम गाँजा, २ सय मिलिलिटर कोरेक्स, ३ लिटर ३ सय मिलिलिटर वायोरेक्स, ३ हजार ९ सय ४ ट्याब्लेट नाईट्राजेपाम,१६ पिस स्पास्मो सहित नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७२/०७३ मा ९७ मुद्दा का १ सय ८ जनाबाट ५ सय ८७ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, २० किलो २ सय ग्राम चरेश, ५ किलो अफिम, २५ ग्राम गाँजा, ९ सय ३४ ट्याब्लेट नाईट्राजेपाम बरामद भएको थियो ।

आर्थिक वर्ष ०७३/०७४ मा १ सय ३७ मुद्दामा १ सय ८० जनाबाट ५ सय ३७ ग्राम ३ सय १२ मिलिग्राम ब्राउन सुगर, ५३ ग्राम अफिम, ३७ किलो १ ग्राम गाँजा, ४ लिटर २ सय मिलिलिटर कोरेक्स, ९ सय ७५ ट्याब्लेट नाईट्राजेपाम ट्याब्लेट बरामद भएको थियो ।

आर्थिक वर्ष ०७४/०७५ मा १ सय ४५ मुद्दामा ३ सय १० जनाबाट ३ सय ३४ ग्राम ४ सय १६ मिलिग्राम ब्राउन सुगर, ८६ किलो २ सय ५० ग्राम चरेश, ७ किलो ३ सय ग्राम अफिम, १ सय ग्राम गाँजा, २ हजार ६ सय ५० मिलिलिटर कोरेक्स, ३ हजार ५ सय १ ट्याब्लेट नाईट्राजेपाम ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । -सदरलाइन

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     8:24:42 AM  |