कोहलपुर/ बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता शनिबारदेखि कोहलपुरमा सुरु भएको छ । प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले उद्घाटन गरेका हुन् ।
कोहलपुर स्र्पोट क्लबको आयोजनामा सुरु भएको प्रतियोगतामा बाँकेका १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिन कोहलपुर स्र्पोट क्लब ‘बी’ टिम र शिवशक्ति युवा क्लब मैटहवा बिच प्रतिस्पर्धा भएको छ ।
यशोदा फुड प्रालिको मुख्य प्रायोजन तथा कोहलपुर उद्योग वाणिज्य संघको सह–प्रायोजन भएको सो प्रतियोगिताको पहिलो खेलमा शिवशक्ति युवा क्लब मैटहवा २ गोल गरेर अग्रता कायम गरेको छ ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद रु ३५ हजार तथा द्वितीय स्थान प्राप्त गर्ने टिमलाई नगद १५ हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ६ जना खेलाडीलाई नगद रु १५ सयका दरले प्रदान गरिने भएको छ । प्रतियोगिताको फाईनल खेल असोज १५ गते हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा कोहलपुर स्र्पोट क्लबका अध्यक्ष कृष्ण गिरी, कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी, ठकुरी, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक जंग रोकाय, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँकेको अध्यक्ष विरेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।