29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कर्मचारी सञ्चय कोषले मनायो ५७ औं वार्षिक उत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १, २०७५  

कोहलपुर/  कर्मचारी सञ्चय कोषको ५७औँ वार्षिक उत्सव समारोह देशभरिका शाखाहरुले भव्य रुपमा मनाएका छन् । ‘सुरक्षित भविष्यका लागि सञ्चय कोषको व्यवस्था गरांै’ भन्ने मुल नाराका साथ उत्सव शाखाहरुले भब्य रुपमा मनाएका हुन् ।

सोही अवसरमा आइतबार कोहलपुर शाखाले पनि एक कार्यक्रमको आयोजन गरी उत्सव मनाएको छ । कार्यक्रमको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी भुजेलले कर्मचारी सञ्चय कोषले विभिन्न शाखामार्फत सरल र सहज सेवा प्रवाह गरिरहेको भन्दै अझै यसले आफ्नो सेवा सुविधा तथा लगानीका दायराहरु विस्तार गर्दै जानुपर्ने बताए । साथै उनले यस संस्थाले विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेकोले आगामी दिनमा नयाँ लाभकारी योजनका साथ अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा नेपाली सेनाका तर्फबाट श्रीमेहर गणका प्रमुख सेनानी बासुदेव धिमाल, मध्यपश्चिम पृतना प्रहरी तालिम केन्द्र एसएसपी देव बहादुर बेहोरा, निजामती कर्मचारीका तर्फबाट कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, कर्मचारी मिलन केन्द बाँकेका विष्णु पुन लगायतले आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा दिवसका अवसरमा आयोजित सञ्चय कोषका कर्मचारीहरु विचमा खेलाइएका विभिन्न खेलखुदका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीहरुलाई प्रमुख अतिथिले भुजेलले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कोहलपुर शाखाको प्रमुख मेहन्द्र शाक्यको सभापतित्वमा भएको कार्यक्रममा बाँके जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुख, अन्य संघ–संस्थाका प्रतिनिधि, कोषका कमचारी, सञ्चयकर्ता लगायतको सहभागिता रहेको थियो ।

कोषको आर्थिक वर्ष २०७४÷०७५ को सञ्चय कोष मौज्दात रु २ खर्व ७८ अर्व ७५ करोड, जगेडा कोष रु १० अर्व ११ करोड, अन्य दायित्व तथा व्यवस्था रु ३ अर्व ७७ करोड, कुल स्रोत रु २ खर्व ९२ अर्व ६३ करोड र कुल लगानी रु २ खर्व ८७ अर्व ७८ करोड रहेको छ । साथै सञ्चयकर्तालाई सञ्चित रकममा ८.२५ प्रतिशत व्याजदर प्रदान गरिदै आएको छ ।

संस्थाको आर्थिक वर्ष २०७३÷०७४ को खुद मुनाफाबाट सञ्चय कोष सुरु मौज्दातको आधारमा ०.७५ प्रतिशतले मुनाफा बाँडफाँड गरी सञ्चयकर्ता बेतन कर्णाली हाईड्रोपावर कम्पनी लि.को शेयर लगानी गर्ने प्रयोजनको लागि मुनाफा प्रदान गरिएको छ । कोषले सञ्चयकर्तालाई सापटी अन्तर्गत विशेष सापटी सञ्चय कोष मौज्दातको ८० प्रतिशतसम्म, घर सापटी घर निमार्ण गर्न वा खरिद गर्न घर/जग्गाको धितोमा अधिकतम १५ वर्षको तलवमा नबढ्ने गरी रु १ करोडसम्म, शैक्षिक ऋण वाफत घर जग्गाको धितोमा सञ्चयकर्ता वा निजको पति/पत्नी/छोरा/छोरीले स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्नका लागि अधिकतम रु २५ लाखसम्म दिने गरेको छ ।

साथै सञ्चयकर्ता सरल चक्र कर्जा अन्तर्गत घर तथा जग्गाको धितोमा १० वर्षको तलवमा नबढ्ने गरी रु ३० लाखसम्म र घर मर्मत सापटी वाफत घर मर्मत गर्न घरजग्गाको धितोमा अधिकतम ५ वर्षको तलवमा नबढ्ने गरी रु २५ लाखसम्म दिने गरेको छ । यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत दुर्घटना क्षतिपूर्ति वाफत् रु १ लाख २५ हजार, काजक्रिया अनुदान खर्च ३० हजार, औषधी उपचार सहयोगअन्तर्गत साधारण उपचारमा २५ तथा कडा रोगको लागि ५० हजार र सुत्केरी तथा शिशु हेरचाह प्रति प्रसुती रु ७ हजार ५ सयका दरले २ पटक सम्म उपलब्ध गराउँदै आएको छ । पुल्चोक ललितपुरमा केन्द्रिय कार्यालय रहेको कोषमा हाल देशभर सञ्चयकर्ताको संख्या ६ लाख छन् भने २५ हजार ६ सय शाखा कार्यालयहरु रहेका छन् ।

प्रकाशित मितिः सोमवार, अशोज १, २०७५     8:37:11 AM  |