20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शैक्षिक गुणस्तर सुधार्न सामुहिक प्रतिवद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५  

नेपालगन्ज/  बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामुहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले सोमवार खजुरामा आयोजित एक कार्यक्रममा ३१ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबारदेखि नै कार्यान्वयनमा लैजाने समेत उनीहरुले बताएका छन् । पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी पद्धतिको रुपमा विकास गर्ने, कक्षाकोठा शैक्षिक सामग्रीयुक्त बनाइने, एक कक्षा कोठामा ४० बढी विद्यार्थी राख्न नपाइने, शिक्षक, विद्यार्थीको पोशाक अनिवार्य गर्ने, शिक्षण सुधारको हरेक विद्यालयले अनियार्वरुपमा योजना बनाउने, विद्यार्थी, शिक्षक दुबैका लागि आचारसंहिता बनाएर लागू गर्ने लगायतका प्रतिवद्धता गरिएको छ ।

यस्तै विद्यार्थी सिकाई चार्ट स्पष्ट झल्किने गरी कक्षामा टाँस्ने, भौत्तिक संरचना नभएका विद्यालयमा त्यसको विकास गर्ने, मन्टेश्वरीको हकमा खजुरा गाउँपालिकाको शिक्षा नियामावलीले तोकेको मापदण्ड कायम गर्नु पर्नेलगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ । लाइसेन्स प्राप्त शिक्षकलाई मात्र छनौट गरिने र छनौट विधिमा समेत परिमार्जन गरिएको छ ।

माथिल्लो निकायबाट गरिएका परिपत्र हुबहु कार्यान्वयन गर्ने, झुटोे विवरण पेश गर्न नपाइने, शिक्षक, कर्मचारीको प्रोफाइल बनाई गाउँ शिक्षा समितिमा पेश गर्नु पर्ने, जथाभावी शुल्क असुली बन्द गर्नु पर्ने, अनुगमनलाई तीव्रता, उत्कृष्टलाई पुरस्कृतलगायतका बुँदाहरुमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा शिक्षा विकास समन्वयन इकाई प्रमुख गोरखबहादुर थापाले शिक्षकहरुले पेशागत जिम्मेवारी, मूल्यमान्यता र मर्यादा पालना गरेको खण्डमा देशका भविष्यका कर्णधार विद्यार्थीको शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका शैक्षिक सुधारका लागि दृढताका साथ अगाडि बढेको बताए ।

उनले एक वर्षभित्र शैक्षिक सुधार गर्ने विद्यालयलाई अनुदान थप गरिने जानकारी दिँदै खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा शिक्षाको क्षेत्रमा २० करोड बजेट विनियोजन गरेको बताए । कार्यक्रममा राजनीतिक सल्लाहकार भीम वलीले भोलिदेखि नै कार्यान्वयनमा आउने बुँदाहरु कार्यान्वयन गर्न शुरु गरेर यसलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए ।

खजुरा गाउँपालिका स्रोत व्यक्ति टंक दाहालले संचालन गरेको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज ढकाल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, जनता नमूना माविका प्रअ शशिराम कार्की, इशाका अध्यक्ष सतिश निरौला, नेरा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामगोपाल यादवलगायत विभिन्न विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो धारणा राख्दै शैक्षिक सुधार अभियानलाई मूर्तरुप दिन लागि पर्ने बताए । खजुरा क्षेत्रमा ३१ सामुदायिक र १७ संस्थागत विद्यालय संचालनमा छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५     7:43:13 AM  |