काशीराम शर्मा : नेपालगन्ज/ नेपालगञ्जको राँझा विमानस्थललाई पश्चिम नेपालको एकमात्र भरपर्दो विमानस्थलका रूपमा लिइन्छ । दैनिकजसो विशिष्ट व्यक्ति तथा पर्यटक ओहोरदोहोर गर्ने यो विमानस्थल अहिले फोहरले दुर्गन्धित बनेको छ ।

उपमहानगरपालिकाका लापर्बाहीका कारण राँझाचोककै पश्चिमपट्टीको छेउमा फोहरको थुप्रो लगाएर दुर्गन्धित बनाइएकाले विमानस्थलको प्रवेशद्वारलगायत आसपासका क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको हो । स्थानीय सर्वसाधारण मात्र नभइ नेपालगन्ज विमानस्थलमा भित्रिने र बाहिरिने यात्रुलाई पनि दुर्गन्धका कारण नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।
राँझा चोकका व्यवसायी रामदिन यादव भन्छन्, “उपमहानगरले सडक किनारमा फोहर फाल्दा निकै दुर्गन्ध फैलिएको र सरुवा रोगको जोखिम पनि बढेको छ ।”
उक्त उपमहानरपालिका–२० का अध्यक्ष कृष्ण कार्कीले सडक किनारमका खाल्डोमा माटो हाली सम्याउन झण्डै रु ५२ लाख लाग्ने भएकाले खाल्डो पुर्नका लागि योजनाअनुसार नै फोहर फालिएको बताए ।
उनले भने, “एकातिर पैसाको अभाव टर्ने र अर्कोतर्फ फोहर व्यवस्थापन पनि हुने भएकाले त्यसो गरिएको हो ।” फोहर फालेपछि माटो हाल्ने योजना रहे पनि वर्षात्का कारण ढिलाइ भएको उल्लेख गर्दै अध्यक्ष कार्कीले भने, “खाल्डोलाई छिट्टै पुरिने भएकाले दुर्गन्ध पनि चाँडै हट्छ । माटो पटान गरी सोही स्थानबाट केही समयअघि हटाइएका घुम्ती र टहरा व्यवस्थापन गरिने छ । ”
उक्त उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने, “घुम्ती र टहरा भएका स्थानमा के गर्ने भन्ने निर्णय भइसकेको छैन । विमानस्थलको प्रवेशद्वार भएकाले वृक्षरोपण गरी हरियाली बनाउँदा उपर्युक्त हुन्छ ।”
वर्षात्का फोहर थुपारिएका स्थानमा माटो भर्न ढिलाइ भएको र वर्षा रोकिएलगत्तै काम अघि बढाइने उनको भनाइ थियो तर प्राविधिकहरूले भने प्लाष्टिक थुपारेर त्यसको माथि माटो भर्दा तत्कालका लागि सहज हुने भए पनि दीर्घकालीन रूपमा फाइदाजनक नहुने बताए । रासस