कोहलपुर/ बाँकेको कोहलपुर रहेको त्रिभुवन नमूना माविमा अध्ययनरत दृष्टिविहीन छात्र–छात्रा तथा विद्यालय बिच सहमति ७ बुँदे भएको छ ।
दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना माविमा अध्ययनरत १४ जना दृष्टिविहीन विद्यार्थीहरुले समस्या समाधानका लागि विद्यालय प्रशासनको विरोध गर्दै पत्रकार सम्मेलन गरेका थिए ।
विद्यार्थीको पत्रकार सम्मेलनपछि कोहलपुर नगर शिक्षा शाखाको विद्यालय निरीक्षक दान बहादुर विष्टको संयोजत्वमा बसेको बैठकले विद्यार्थीहरुका माग पुरा गरेको छ ।
विष्टको संयोजत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर राना, विद्यालयकी प्र.अ. देवका थापा (बस्नेत), वडा नं. १० का वडा सदस्य ओम प्रकाश वर्नवाल, विद्यार्थी प्रतिनिधि गोकर्ण तिमिल्सेन, नेत्रहिन संघ बाँकेका अध्यक्ष के.एल. राना, कोषाध्यक्ष भोलानाथ त्रिपाठी, बाँके नेत्रहीन संघका का. अधिकृत दीपा पौडेलको वार्ता टोलिबीच ७ बुँदे सहमति भएको हो । बाँकी मागहरुका विषयमा विद्यालयसँग छलफल गरेर जाने छात्र गोर्कण तिमिल्सेना बताए ।
त्रिभुवन मावि कोहलपुरका विशेष शिक्षाका विद्यार्थीहरुबाट पेश भएका १९ वटा बुँदाहरुमध्ये छात्राबासको भान्साको कोठा बाहिर बस्ने राम्रो व्यवस्था तत्काल तयार गर्ने, स्रोत कक्षामा प्राप्त अनुदानको पारदर्शी रुपमा जानकारी गराउने, दृष्टिविहीन विद्यार्थीहरुको लागि लेखन सहयोगीको व्यवस्था विद्यालय प्र.अ.ले गर्ने, दृष्टिविहीन परीक्षार्थीलाई छुट्टै कोठामा राखेर स्रोत शिक्षकबाट परीक्षा संचालन गराने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर रानाले बताएका छन् ।
यस्तै कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि छात्राबासको अपर्यप्तताको कारण हाललाई छात्रवास उपलब्ध गराउन नसकिने, आवासिय छात्रवास (अपाङ्गमैत्री÷बालमैत्री सुविधायुक्त) भवनको लागि नगरपालिकासँग माग गरी पठाउने र विद्यालयको आचार संहिता शिक्षक विद्यार्थीहरुले पूर्ण रुपमा पालना गराउन विद्यालय प्रशासनले पहल गर्ने निर्णय भएको अध्यक्ष रानाले बताएका छन् ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर रानाले कुनै पनि अवस्थामा विशेष कक्षा सञ्चालनका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम हिनामिना नभएको दावी गरे । सरकारले उपलब्ध गराउँदै विशेष कक्षा सञ्चालन र व्यवस्थापनका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम अपुग भएपछि विद्यालयले अपुग हुन आउने रकम व्यवस्थापन गर्दै आइरको बताए ।