आन्तरिक राजश्व सुधार कार्ययोजना सम्बन्धी गोष्ठी



भीम रावत: कोहलपुर/  कोहलपुर नगरपालिकाले आन्तरिक आय वृद्धि (राजश्व संकलन) गर्न आवश्यक पर्ने विधि, प्रक्रिया तथा राजश्व उठाउन सकिने क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समितिलाई अन्तिम प्रतिवेदन तयार गर्ने उद्देश्यले बुधबार कार्याशाला सम्पन्न गरेको छ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विवकास केन्द्रको सहजीकरणमा सो कार्याशाला गरिएको छ । आन्तरिक राजश्वका श्रोतहरु पहिचान गर्ने , राजश्व(कर)का दायराहरु निर्धारण गर्ने, कर लाग्ने विषयहरुको पहिचान गर्ने, स्थानीय सरकारको एकल कर लाग्ने क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारमा कर बाँडफाँड हुने क्षेत्र तथा संघीय सरकार र स्थानीय सरकारमा कर बाँडफाँड हुने क्षेत्रहरुको पहिचान कसरी र कुन प्रक्रियाबाट गर्न सकिन्छ भन्ने बारेमा समेत कार्याशालामा छलफल भएको थियो ।

कोहलपुर नगरपालिकाको आन्तरिक राजश्व अध्ययन तथा राजश्व सुधार कार्ययोजना सम्बन्धी तीन वर्षिय मसौदा प्रतिवेदनको अन्तिम रुप दिन सुझाव संकलन गर्न आयोजित कार्याशालामा स्थानीय शासन सञ्चालन तथा राजश्व सुधार कार्ययोजना विज्ञ रमेश अधिकारी र सविता परियारले सो प्रतिवेदनको मसौदा प्रस्तुत गर्दै त्यसको आवश्यकता, औििचत्यता र विषयवस्तु बारे सहभागीहरुलाई राजनकारी गराएका थिए ।

कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा सम्पन्न सो कार्याशालामा नगरपालिका उप–प्रमुख एवं राजश्व परामर्श समिति संयोजक सन्जु कुमारी थारु , प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, राजश्व शाखा प्रमुख, नगरपालिका सबै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, राजनीतिक दलहरुका प्रतिनिधिहरु ,वाणिज्य संघका अध्यक्ष, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागीतामा सो कार्यशाला गरिएको हो ।

विज्ञहरुको प्रस्तुती तथा छलफलमा आएका सुझावहरु समेतलाई ध्यान दिदै नगर प्रमुख रावतले कोहलपुरको विकास र स्थानीय जनताको आवश्यकता अनुसारका योजनाहरु सम्पन्न गर्न बजेटको आवश्यक हुन्छ र त्यो बजेटको श्रोत जनताबाट उठाउने कर,सेवा शुल्क, शुल्क तथा दस्दुरहरुबाट जम्मा हुने बताए ।

रावतले भने,‘नगरपालिकाले जनताको ढाड सेक्ने गरी कर लगाएको छैन । आन्तरिक कर उठाउने विषयमा धेरै पटक धेरै पक्षहरुसँग छलफल गरेर नै नगरपालिकाले करको दर निर्धारण गरेको हो । अझै पनि कहि कतै जनतालाई साह्रै अप्ठयारो परेको भए त्यसलाई छलफलबाट सुधार गर्न सकिन्छ । तर सरकारलाई कर तिर्नु हाम्रो कर्तव्य हो भन्ने कुरा पनि जनताले बुझिदिनु प¥यो ’।

त्यस्तै उप–प्रमुख एवं नगरपालिका स्तरीय राजश्व परामर्श समिति संयोजक सन्जु कुमारी थारुले आन्तरिक राजश्व नगरपालिकाका भित्रका विकास योजनाका खर्च श्रोत भएकाले आफ्नो अधिकार क्षेत्र भित्र रहेका कर उठाउन पाउने श्रोतहरुमा कर लगाउदा स्थानीय जनताहरु र सरोकारवालाहरुसँग परामर्श गरेर नै करको दर निर्धारण गर्ने भएकाले यसमा नगरपालिकाले आफु खुशी लगायो भन्ने कुरा सत्य नभएको बताइन् । थारुले भनिन्,‘ कर तिर्नु जनताको कर्तव्य पनि हो भन्ने कुरा बुझिदिनु पर्छ ’।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले कोहलपुर नगरपालिकाको आन्तरिक राजश्व संकलन गर्दा लगाउने कर धेरै अन्य ठाउँको तुलनामा कम नै रहेको बताए । देवकोटाले भने ,‘ हामीले प्रगतिसिल कर लगाएका छौ ।

यसमा धेरै उत्पादन गर्ने ,धेरै सम्पत्तिको प्रयोग गर्ने व्यक्ति वा संस्थाले वातावरण बढी प्रदुषित गर्ने सरकारी सेवालाई बढी प्रभावित पार्ने ,सार्वजनिक सम्पत्तिको बढी प्रयोग गर्ने हुँदा उनीहरुले बढी कर तिर्ने तथा कम प्रयोग गर्नेले कम कर तिर्ने कर विधि अवलमबन गरिएको छ ।’ कर तिर्ने जनताको कर्तव्य हो भने राज्यबाट आफूलाई आवश्यक परेको सेवा लिने अधिकार पनि हो भन्ने कुरा सबैले बुझन आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञाशाहरु राखेका थिए । सहभागीहरुको सुझावहरुलाई समेत अध्ययन गरी मसौदालाई अन्तिम रुप दिने विज्ञहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहीबार