आज १९औं अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदैँ



कोहलपुर/  आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैँ छ ।

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताउनुभयो ।

नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवाको नेतृत्व विकास र परिचालनमा केन्द्रित भएर परिषद्ले काम गरिरहेको बताउनुभयो ।

युवामा सकारात्मक सोचको विकास गर्ने, सम्भावना र आशा देखाउँदै आत्मविश्वास जगाउनका लागि परिषद्ले युवालाई परामर्श दिइरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले युवा दिवसको अवसरमा आज प्रतिभावान र सक्षम युवालाई सम्मान गर्ने कार्यक्रमको पनि आयोजना हुने जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार