3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

आत्महत्याको दर बाँकेमा घट्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २३, २०७५  

कोहलपुर/   अघिल्ला वर्षहरुका तुलनामा यस आर्थिक वर्षमा बाँकेमा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो ।

विषेश गरि १५ देखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुले बढि आत्महत्या गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङले जानकारी दिए ।

प्रहरी उपरीक्षक तामाङकाअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा १ सय १९ जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरी आत्महत्या गर्नेको संख्या ४३ र झुण्डीएर आत्महत्या गर्नेको संख्या ७६ रहेको थियो ।

गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लाभित्र ७६ जनाले मात्र आत्महत्या गरेका छन् । जस मध्य विष सेवन ३१, झुण्डीएर ४४ र १ जनाले आत्मदाह गरी आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा भने त्यो संख्या घटेर जम्मा ३२ जनाले आत्महत्या गरेको पाइएको छ । जसमा १६ जनाले विष सेवन र ३२ जना झुण्डीएर आत्माहत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।

आफुले सोचेको कुरा पुरा नहुनु, गर्न खोजेको काममा असफल हुनु र घरेलु हिंशाबाट पीडित भई न्याय नपाउँदा आफ्नो जीवनदेखि हरेस खानु लगायतका कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरि उपरिक्षक तामाङले बताए ।

यस्ता खाले आत्महत्याका घटना रोक्नको लागि व्यक्ति निराश र तनावमा भएको अवस्थामा विषेशगरि परिवारको सहयोग र साथ अपरिहार्य हुने उनको भनाई छ ।

प्रकाशित मितिः बुधबार, साउन २३, २०७५     9:44:20 PM  |