कोहलपुर/ बाँकेको जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहा दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनको १९ र १६ वर्षीय दुई छोरी र १४, ११ वर्षको छोरा छन् । १९ वर्षीय छोरीको विवाह भएर पनि दर्जी हजुरआमा भइसकेकी छिन् ।
उनले विवाह गरेदेखि ६ वटा स्थानीय, प्रतिनिधी, संविधान र प्रदेशसभाको चुनाव भइसकेको छ । विडम्बना ४५ वर्षसम्म हसरतजहा दर्जीको नागरिकता बनेको छैन् । उनका पति बाहिद अली दर्जीले नागरिकता बनाएर हरेक निर्वाचनमा भोट हाल्छन् तर उनले चाहेर पनि भोट हाल्न पाउँदिनन् ।
त्यतिमात्र नभएर उनले नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न पाएकी छैनन् । सहकारी, महिला समूहमा रकम बचत गर्न पाएकी छैनन् । वडा र गाउँका हरेक निर्वाचनमा मत माग्न र भोट हाल्न सिकाउन आउने नेताले समेत नागरिकता बनाउँन पहल गरिदिएका छैनन् । छोराछोरी पनि हुर्कि बढेर विवाह गर्न थालिसके तर आफ्नो नागरिकता नभएको हसरतजहा बताउँछिन् ।
‘नागरिकता बनाउने मन छ,’ उनले भनिन्, ‘तर पतिले विवाह दर्ता नगराई दिँदा नागरिकता भएको छैन् ।’ चुनावमा भोट हाल्न मन लागेपनि नागरिकता नहुँदा खल्लो लाग्ने गरेको उनले पीडा सुनाइन् । सहकारी, आमा, महिला समूहमा ऋण लगानी समेत नपाएको उनले दुखेसो सुनाइन् ।
पिप्रहवाकी २५ वर्षीय ज्योति लोधले विवाह गरेको १० वर्ष भयो । १५ वर्षको उमेरमा विवाह गरेकी उनको अहिले ७ वर्षीय छोरा भइसक्यो तर नागरिकता बनेको छैन् । नागरिकता बनाउँन घरमा भनेपनि नबनेको उनले भनिन् । ‘सासुससुरा, पतिलाई विवाह दर्ता गरि नागरिकता बनाउन सिफारिस गरिदिन भन्दै आएको छु,’ उनले भनिन्, ‘मनले चाहेपनि नागरिकता पाउन सकेको छैन् ।’
पतिको अगाडी नागरिकताका लागि झगडा र विवाद गर्न नसकिने उनी भन्छिन् । उनको उमेर अनुसार २०६४, २०७० र २०७४ मा मतदान गर्न सक्ने उमेर भएपनि नागरिकताकै कारण मतदाता नामावली समेत छैन् । अरुका छोराबुहारीले भोट हाल्न जाँदा र नेता जिताउँदा खुशी हुने गरि पनि आफूहरु लुकेर बस्ने गरेको यहाँका बाँकेका मधेशी दलित बुहारीहरु पीडा सुनाउँछन् ।
यी केही प्रतिनिधी उदाहण मात्र हुन्, मधेशका दलित बुहारीका नागरिकता नभएका । जानकी गाउँपालिका ६ पिप्रहवाकी २६ बर्षीय ताजरुन तेलीले विवाह भएको ८ बर्षसम्म नागरिकता बनाउन नसकेको पीडा सुनाइन् । उनको एक छोराछोरी साथमा भएपनि नागरिकबता नबनाएरै बसेको छिन् ।नागरिकता बनाउन पति र सासुससुरा मनाईरहेको उनले भनिन् ।
कर गरिरहेको तर बनाउने टुंगो नलागेको उनले बताइन् । बाँकेका मधेशी बस्तीमा महिलाहरुको विवाह भएको २५ देखि ३० वर्षसम्म पनि नागरिकता छैनन् । अझै गाउँ गाउँमा खोज्ने हो भने मृत्यु भइसक्दा पनि नागरिकता बुहारीहरुका बन्दैनन् । वृद्ध भत्ता खान पाउने समयमा मात्र केहीले नागरिकता बनाउने गरेको भेटिन्छन् ।
जानकी गाउँपालिका ६ का वडाअध्यक्ष सुरेश यादवले आफ्नो वडामा जनसंख्या ८ हजार रहेको तर मतदान गर्नेको संख्या एक हजार ६ सय मात्र रहेको बताउँदै विवाह गरेपनि अधिकाशको नागरिकता नहुने उनले बताए । विवाहित ५५ प्रतिशतसम्म बुहारीहरुको नागरिकता नहुने उनको भनाई छ । ‘गाउँपालिका र वडा कार्यालयबाट नागरिकताकै लागि जन्मदर्ता, विवाह दर्ता र नागरिकता सिफारिस निशूल्क गरेका छौ,’ उनले भने, ‘सबै सिफारिस निशूल्क गर्दापनि नागरिकता बनाउँनद आउँदैनन् ।’ मधेशका बुहारीको नागरिकता बनाउँनका लागि सहजै सम्भव नभएको वडा अध्यक्ष यादव बताउँछन् ।
बाँके जिल्लामा अझै ५५ प्रतिशत विवाहित महिलाहरुको नागरिकता हुन नसकेको बताइन्छ । उनीहरु त्यही कारण बैक खाता, सहकारी, समूहमा ऋण, लगानी नपाउने, भोट हाल्न नपाउने, अंशबण्डामा नपाउने समस्या छ । फात्तिमा फाउण्डेशन बाँकेकी संस्थापक अध्यक्ष महोम्मदी सिद्धिकीले मधेशी समुदायका अधिकाश बुहारीले समयमा नागरिकता नबनाउने गरेको बताइन् । ‘धेरै कार्यक्रम र छलफलमा जाँदा अधिकाश विवाहितका नागरिकता नभएको भेटिन्छ,’ उनी भन्छिन् । घरपरिवारकै कारण नागरिकता उनीहरुले बनाउन नपाएको सिद्धिकीले बताइन् ।
बाँकेको जनसंख्या र मतदाता संख्याका आधारमा पनि महिला मतदाताको संख्या कमी भएको पुष्टि हुन्छ । जहाँ महिलाको जनसंख्या करिव ४ हजार बढी छ तर मतदाता संख्यामा महिला संख्या साँढे ५ हजार कमी छ । २०६८ अनुसार कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको छ । जसमा पुरुष २ लाख ४४ हजार २ सय ५५ र महिला संख्या २ लाख ४७ हजार ५८ रहेको छ । जिल्लामा कूल मतदाता संख्या दुई लाख ७६ हजार ७ सय १८ रहेको छ । ५ लाख जनसंख्यामा साँढे दुई लाख मतदाता रहेको बाँकेमा पुरुष मतदाता १ लाख २५ हजार ९ सय ९३ र महिला मतदाता संख्या १ लाख २० हजार ८४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्