कोहलपुर/ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नं. ५ को अध्यक्षमा बाँकेकी बसन्ती अधिकारी निर्वाचित भएकी छन् ।
शनिबार बुटवलमा सम्पन्न महासंघको प्रथम प्रदेश स्तरिय अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । महासंघको उपाध्यक्षमा दाङका टिकाराम भण्डारी, महासचिवमा गुल्मीका राम मल्ल र कोषाध्यक्षमा रुपन्देहीकी मिना पाण्डे निर्वाचित भएका छन् । अधिवेशनबाट ५० सदस्यीय प्रदेश स्तरीय कार्यसमिति चयन गरिएको छ ।
१२ वटा जिल्ला र ९० वटा स्थानीय तहका ६ सय ६२ जनाको सहभागिता रहेको अधिवेशनले दलित, आदीवासी महिला, मुस्लिम लगायतको समावेशी कार्यसमिति तथा न्यायिक तथा लेखा तथा अनुगमन समिति निमार्ण गरिएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिइन् ।
अधिकार उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार भन्ने मुल नाराका साथ सुरु भएको प्रथम प्रदेश स्तरीय अधिवेशनको शुक्रबार उद्योग पर्यटन वन वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेकी थिइन् ।
सामुदायिक वन उपभोक्ताहरु को छाता संठनको रुपमा रहेको सामुदायिक वन उपभोक्ता महासंघका नेपालले समुदायिक वनका हक, हितका विषयमा वकालत गर्दै आएको छ ।
वि.स. २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघको नेतृत्वमा २२ हजार २ सय ६६ उपभोक्ता समुहहरुले सामुदायिक वनको संरक्षण सम्वद्र्धन र सदुपयोग गर्दै आएका छन् भने २२ लाख ३६ हजार २ सय ७० हेक्टरमा वन क्षेत्र रहेको छ । जसमा करिब २९ लाख ७ हजार ८ सय ७१ घरधुरी संलग्न रहेका छन् ।