सभामुख महराद्वारा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलाल्यास



नेपालगन्ज/ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संविधान निर्माण भएपछि मुलुकको राजनीतिक विवाद सकिएको दाबी गरेका छन् ।

उनले मंगलबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै सो कुरा दाबी गरेका हुन ।

उनले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको जानकारी दिए ।

सभामुख महराले नेपालगन्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबै खाले सहयोग रहने प्रतिबद्धता जनाए ।

सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गरेका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाएका थिए ।

सो अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए ।

कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्राध्यापक डा. गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरेका थिए ।

एक वर्ष भित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि छ करोड ८९ लाख लागत खर्च लाग्ने बताईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार