विभिन्न कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा सम्पन्न



नेपालगन्ज/  सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्वारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, ब्याकवर्ड सोसाइटी एजुकेशन बेस, टीबी नेपाल, चेन्ज टीम, जुनकिरि महिला समाज र ब्लु डायमण्ड सोसाइटीद्वारा सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका कार्यक्रमहरुको विभिन्न सरोकारवालाहरुको उपस्थितिमा विस्तृत समिक्षा गरिएको हो ।
गत ६ महिनाको अवधीमा सम्पन्न भएका कार्यक्रम र त्यसबाट प्राप्त भएका उपलब्धीहरुबारे बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठ, ब्याकवर्ड सोसाइटी एजुकेशन बेसका आशाराम चौधरी, टीबी नेपालका हिक्मत बहादुर बुढा, चेन्ज टीमका ईन्द्रा कुमारी जिसी र जुनकिरी महिला समाजका रविन्द्र सिंह राठौरले जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनधिहरुले सोही जानकारीकै आधारमा विभिन्न जिज्ञासाहरु राख्दै सुझावहरु समेत दिएका थिए । सो अवसरमा सेभ द चिल्ड्रेनका दिपेन्द्र सिंह ठकुरीले सेभ द चिल्ड्रेनले बाँके जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरुको जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय बहादुर श्रीवास्तवले दातृ निकायको सहयोगमा बाँकेका विभिन्न संघसंस्थाहरुले उल्लेखनीय काम गरेको जनाउँदै तर अझै पनि धेरै कुराहरुमा सुधार ल्याउनु पर्ने आवश्यकता औल्याए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिका बाढी र अन्य विभिन्न समस्याबाट सधैं झै पिडित हुँदै आएको जनाउँदै त्यहाँका बासिन्दालाई सधैंका लागि त्यस्तो पिडाबाट मुक्त गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले ७ वटा संस्थालाई एकै ठाउँमा राखेर सानो समयमा गरिएको समिक्षाले वास्तवमा कार्यक्रमको सही समिक्षा हुन नसक्ने ठोकुवा गर्दै छुट्टा छुट्टै संस्थाको अलग अलग समिक्षा गर्नु पर्ने सुझाव दिए ।

सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक कालु सिंह कार्कीले सरोकारवाला निकायको सुझाव र सल्लाहलाई सधैं सम्मान गर्नुका साथै कार्यान्वयन समेत गरिएकोले यस पटक पनि त्यसमा बिशेष ध्यान दिइने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार