गाँउ-ब्लक जग्गाको लालपुर्जा वितरण गर्न सकिने



कोहलपुर/  कोहलपुर नगरपालिकाभित्र रहेका गाँउ-ब्लक घर, जग्गाहरुको लालपुर्जा बितरण गर्न सकिने अवस्था रहेको नापि शाखा बाँकेका प्रमुखले बताएका छन ।

शुक्रबार कोहलपुर नगरपालिका कार्यालयमा नगर प्रमुखसँग छलफल गर्दै विगतमा नाप नक्सा भएका र छुटेकाहरुको नाप-नक्सा गरी गाँउ-ब्लकका जग्गाहरुको लालपुर्जा वितरण गर्न सकिने नापि शाखा बाँकेका प्रमुख अशोक भुषालले बताए ।

साबिकको कोहलपुर र रझेना गाविसमा रहेका अधिकाशं गाँउ-ब्लक जग्गाको नाप-नक्सा भईसकेको र बाँकी रहेका जग्गाको नाप–नक्सा गरि स्थानिय तहको सिफरिसमा सम्बन्धित जग्गाधनीलाई पुर्जा वितरण गर्न सकिने शुक्रबारको छलफलमा नापी प्रमुख भुषालले बताएका हुन ।

साविकको कोहलपुर गाविसमा रहेका गाँउ-ब्लक जग्गाको नाप-नक्सा भईसकेको र रझेना गाविसमा नाप-नक्सा हुन बाँकी रहेकोमा कोहलपुर नगरपालिकाले सहयोग गरेमा चाँडै नाप-नक्सा गरि पुर्जा वितरण गर्न सकिने भुषालले सुझाव दिएका छन ।

यसअघि नापि शाखा बाँकेले नाप-नक्सा भएका जग्गाको पुर्जा वितरणकालागि सम्बन्धित जग्गा धनीहरुलाई पासपोर्ट साईजको फोटो तयार राख्न र नाप-नक्सा गर्न छुट भएका जग्गाको दर्ता गर्न समेत सूचना जारी गरेको भुषालले जानकारी दिए ।
छलफलमा नगर प्रमुख लुटबहादुर रावतले गाँउ-ब्लक जग्गाको लालपुर्जा सम्बन्धित बसोवास गरिरहेका ब्यक्तिहरुलाई दिन मिल्ने अवस्था रहेको भए आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

साथै रावतले पहिले गरेको नाप-नक्सामा कतिपय जग्गाधनीको बसोवास गरेको घर रहेको स्थानमा उसको नाममा नाप-नक्सा भएको जग्गा नरहेको र जग्गा भएको ठाँउमा घर नरहेको अवस्था समेत देखिएकाले त्यस्तो भेटिएको ठाँउमा पुनः नाप-नक्सा गर्न समेत अनुरोध गरे । –kanchulikhabar

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ५ गते शनिबार