कोहलपुर/ बर्दिया, गुलरिया नगरपालिका–१२, टडवाका सन्तोष रसाइलीले २२ वर्षीया श्रीमती अमृता बिकलाई कुटपिट गर्दै गत शनिबार घरबाट निकाले ।
निरन्तरको कुटपिटपछि यातना सहन नसकेर अमृता बाँकेको राप्तीसोनारी–९ स्थित आफ्नो माइतीघरमा आइन् । सन्तोषले ३ वर्षीया छोरी इसालाई समेत खोसेर आफैँसँग राखेको उनले बताइन् ।
सन्तोषको कुटाइबाट अमृताको कानको जाली फुटेको मेडिकल रिपोर्टमा देखिएको छ भने अनुहार तथा ओठमा चोट लागेको छ । २०७० सालमा प्रेम विवाह गरेकी अमृताले बिहे भएको केही समयपछि आफूले निरन्तर शारीरिक र मानसिक यातना खेप्दै आएको बताइन् ।
‘मैले उसलाई निकै पे्रम गर्थेँ तर, ऊ भने मेरै अगाडि अन्य केटीहरुलाई फोन गथ्र्यो,’ उनले भनिन्, ‘तर मैले यसो नगर्नु भन्दा उल्टै मलाई पिट्थ्यो ।’ सामान्य कुरा बोल्न खोजे आइमाई भएर बढी बोल्ने भन्दै पटक–पटक यातना दिने गरेको उनको भनाइ छ ।
उनका बाबु भीमबहादुर विकले छोरीलाई पटक–पटक यातना दिइएको र धेरै पटक छोरीको विषयमा दुवै पक्षबीच छलफल भएको बताए । छोरीले धेरै पटकसम्म खेपेको यातनाका विषयमा आफूहरुलाई नभनेको तर, पछिल्लो अवस्थामा श्रीमानले कानको जाली नै फुट्ने गरी हिर्काएपछि मात्रै कुटपिटको विषय जानकारीमा आएको उनले बताए ।
यसैबीच शुक्रबार दुवै पक्षबीच छलफल गर्दा पनि सन्तोषले नमानेपछि प्रहरी चौकी गणेशपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको प्रहरी चौकी गणेशपुरका असई धरमबहादुर केसीले बताए ।









प्रतिक्रिया दिनुहोस्