बाँकेका विभिन्न विद्यालयमा विपत् व्यवस्थापनसम्वन्धी अभियान संचालन



नेपालगञ्ज/ बाँके जिल्लामा आगलागी जस्ता विपत् व्यवस्थापनका बारेमा सचेतनामूलक अभियान संचालन गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना अन्र्तगत् बाँकेका विभिन्न विद्यालयमा कृत्रिम घटनाको अभ्यास गरी स्थानीयलाई सचेत बनाउन थालिएको हो ।

यसै क्रममा बाँके राप्तीसोनारी–२, कचनापुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा आगलागी बारेमा कृत्रिम घटनाको अभ्यास गरिएको छ । आगलागी मान्छेकै कमजोरीले लाग्ने, त्यसलाई रोक्न तथा भविष्यमा आगो लागी हाले बच्ने उपायका बारेमा हालै नाटक देखाइएको छ ।

विद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के–के गर्ने, आगलागी हुँदा हुने नोक्सान बारेमा विद्यार्थी र स्थानीयवासीलाई राखेर कृत्रिम घटना अभ्यास गरिएको हो । विद्यालयमा भएको यो कृत्रिम घटना अभ्यास हेरेर स्थानीय बासिन्दा सचेत भएका छन् ।

बाँकेका ३० वटा विद्यालयमा यो परियोजना सञ्चालनमा रहेको छ । सो विद्यालयहरुमा आगलागीका साथै बाढी र भूकम्प आउँदा के गर्ने भन्ने बारेमा कृत्रिम घटना अभ्यास गरिने कार्यक्रम रहेको युनेस्को कल्बका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो । उक्त विद्यालय जंगलको छेउमा रहेको छ । जंगलमा बर्षेनी जसो लाग्ने आगलागीले जोखिम बढाउने गर्दछ ।

स्कूलमा मात्रै नभएर त्यस आसपासमा बस्ती नै रहेकाले सबैलाई जम्मा पारेर आगलागी बारेमा कृत्रिम घटना अभ्यास गरिएको थियो । यस्तो अभ्यासले विद्यार्थी र अभिभावकले थाहा पाएर पूर्व तयारीमा सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १७ गते आइतबार