करिब दुई सय सामुदायिक कुकुरको बन्ध्याकरण



नेपालगन्ज/   नगरमा सामुदायिक (भुस्याहा) कुकुरको संख्यामा कमी ल्याई रेबिज रोग नियन्त्रण गर्ने उद्ेश्यले नेपालगन्ज उप–महानगरले आयोजना गरेको एक हप्ते सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको समापन भएको छ ।

एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगन्ज उप–महानगरपालिकाले गत बुधबारदेखि एक हप्ते सामदायिक (भुस्याहा) कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो ।

शिविरमा १ सय ९० कुकुरको बन्ध्याकरण गरिएको नेपालगन्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा.अपार पौडेलले जानकारी दिए । उनले एक हप्तासम्ममा २ सय बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको भए पनि १ सय ९० को मात्र गर्न सकिएको बताए ।

उनले भने–‘ दुई सय बढीको बन्ध्याकरण गर्ने तयारीका साथमा हामी फिल्डमा थियौ विविध कारणले १ सय ९० मै सिमित रहनु परेको छ ।’ बन्ध्याकरण गरिएका मध्ये ८० प्रतिशत छाउरी रहेको बाँकी छाउरो छन् ।

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न कै लागि एनिमल नेपालको स्पेसल टिम काठमाडौंबाट नेपालगन्ज झिकाइएको थियो । सो स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गरिएको डा.पौडेलले बताए ।

शहरमा छाडा कुकुरको सङख्यामा कमि ल्याई रेविज रोग नियन्त्रण गर्ने प्रयास स्वरुप बन्ध्याकरण गरिएको पौडेलले बताए । हाल नेपालगन्ज नगर क्षेत्रमा एक हजार बढी सामुदायिक (छाडा) कुकुरको रहेको उप महानगरपालिकाको अनुमान छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १३ गते बुधबार