बैजनाथ (बाँके)/ बैजनाथ गाउँपालिकाको गाउँसभा आइतबारबाट सुरु भएको छ । गाउँसभामा आर्थिक वर्ष २०७५÷०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आर्थिक वर्ष २०७५÷०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले आर्थिक वर्ष २०७५÷०७६को लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन् ।
अध्यक्ष रिजालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । गाउँसभामा उपाध्यक्ष रेग्मी (विश्वकर्मा) ले आर्थिक वर्ष २०७५÷०७६ को लागि ४७ करोड २५ लाख ७६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् ।
जसमध्ये चालु खर्चतर्फ रु २५ करोड २१ लाख ३१ हजार १ सय रहेको छ भने पूँजीगततर्फ २२ करोड ४ लाख ४४ हजार ९ सय बजेट विनियोजित गरिएको छ ।
वजेट प्रस्तुत गर्दै उपाध्यक्ष रेग्मीले ०७४÷७५ का विनियोजित बजेट र कार्यक्रम सुचारु हुने वक्तव्य दिएकी थिइन् । यसवर्ष गाउँपालिकाले विभिन्न करका दायराबाट विभिन्न शिर्षकमा रु २ करोड ३० लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक तथा पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । यसका साथै अव्यवस्थित वस्ती व्यवस्थापन, औद्योगिक प्रभावित क्षेत्र कार्यक्रम, प्रविधिक शिक्षालय, बहुमुखी क्याम्पस, आमा सुरक्षा भत्ता, थारु संग्रालय आगामी कार्यक्रममा राखिएका छन् ।









प्रतिक्रिया दिनुहोस्