कोहलपुर/ नेपालगन्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने भएको छ । अन्तर्रा्ष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगन्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो ।
नेपालन्ज र महेन्द्रनगरबाट ३० हजार फिटभन्दा माथि हुने उडान प्रवेशमार्गका लागि भारतीय पक्षले सेप्टेम्बरसम्म विस्तृत सुरक्षा हवाई विश्लेषण गर्ने प्रतिवद्धता जनाएको छ ।
विराटनगर र जनकपुरमा प्रवेश विन्दु दिन पनि भारत सहमत भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।
हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको छ । यसबाट कम उचाइमा उड्ने नेपाल र भारतका विमानहरुलाई दिल्ली उडान गर्न सहज हुने सरकारले बताएको छ ।
नेपालगन्ज विमास्थलमा क्वारेन्टाइन, अध्यागमन लगायतको व्यवस्था साढे ३ महिनामा गरिसक्ने र भारतले एयर रुट दिएपछि दिल्ली उडान सुरु गर्ने उनले बताए ।
उनका अनुसार विमान कम्पनीहरुलाई नेपालगन्जबाट दिल्ली उडान स्वीकृति दिने प्रक्रिया पनि सुरु भइसकेको छ ।