3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

अपराधिक गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५  

नेपालगन्ज,२९ जेठ/  सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक घनश्याम अर्यालले अपराधिक गतिविधिलाई अन्त्य गरेरै छोड्ने बताएका छन् । अपराधी, गुण्डागर्दी र तस्करहरुलाई खेजीखोजी कारवाहीको दायरामा ल्याउने बताएका हुन् ।

सोमबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसएसपी अर्यालले भने,– ‘अपराधको हबको रुपमा परिचित रहेको बाँकेलाई अब शुन्यमा झारिनेछ ।’ नेपालगन्जमा भारतीय नम्बर प्लेटका मोटरसाइकल, गाडी, भारतबाट भित्रिने अवैध कुखुरा, अण्डालाई कडाईका साथ लागेर निर्मुल पार्ने एसएसपी अर्यालले बताए ।

जेठ ९ गते संघीय प्रहरी इकाई कार्यालय भेरीमा सरुवा भई आएका प्रहरी प्रमुख अर्यालले बोलेर भन्दा काम गरेर देखाउँने प्रतिबद्धता जनाए । सुरु देखिकै रफ्तार अन्तिमसम्म रहने गरी कामको थालनी गर्ने उनले बताए । नेपालगन्ज भन्सार नाका हुँदै भित्रिने लागुऔषध कारोवारीलाई कडाईका साथ चेकजाँच र फेला परे कडा कारवाहीको दायरामा ल्याउने उनले बताए ।

जनतामुखी भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्दै एसएसपी अर्यालले सानालाई ऐन ठूलालाई चैन हुन नदिने स्पष्ट पारे । बाँके लगायतका कार्यक्षेत्रभित्र दादागिरी, जुवातास, घुसखोरी जस्ता अपराधिक क्रियाकलाप गर्नेलाई निगरानी तथा खोजतलास गरी कानुनी दायरामा ल्याउने उनले बताए ।

जनतासँग सहकार्य र सम्मन्वय गरी अगाडि बढ्ने भन्दै उनले जनताको सेवाका लागि २४ सै घण्टा आफु काम गर्न तयार रहेको जिकिर समेत गरे ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५     7:32:30 AM  |