प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’को आज नागरिक अभिनन्दन गरिदै



नेपालगन्ज,२९ जेठ/  प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज (मंगलबार) नेपालगन्जमा नागरिक अभिनन्दन गरिदैछ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय ‘चाचाजी’को नागरिक अभिनन्दन गर्न लागिएको हो । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको र आज (मंगलबार) बेलुका ५ बजे स्थानीय त्रिभुवन चोक पुर्वलाईनमा सक्रिय सहभागी भएर सम्मान प्रकट गर्न सबैलाई युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले आह्वान गरेका छन् ।

प्रेस स्वतन्त्रता सेनानी चाचाजीले पत्रकारिता मार्फत लोकतन्त्र र समाजलाई पु¥याएको योगदानका लागि उनलाई अभिनन्दन गर्न लागिएको शाहले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पन्नालाल चाचाजीको सादगी जीवनको जति प्रशंसा गरेपनि कम हुने भन्दै नागरिक अभिनन्दनलाई उद्योग वाणिज्य संघले अपनत्व लिएको बताए ।

नेपाल पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले पत्रकारिता गरेर समाज र राष्ट्रका लागि योगदान गरेका चाचाजी जस्ता व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्ने सम्भवत त नेपालगन्जबासी मुलुककै पहिलो हुन पुगेको बताए । चाचाजी पत्रकार भएको नाताले नागरिक अभिनन्दनमा बाँकेका सम्पुर्ण पत्रकार अनिवार्य सहभागी हुनुपर्ने र अन्य अन्य पेशाकर्मी तथा नेपालगन्जबासीले पनि सहभागीता जनाएर सफल पार्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेतले नागरिक अभिनन्दनको अगुवाई प्रेस युनियनले गरेपनि सबै लागेर सफल पार्नुपर्ने बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले चाचाजी सबैका साझा व्यक्ति भएको बताउँदै महासंघका सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता जनाउन आब्हान गरका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २९ गते मंगलबार