कोहलपुर,२६ जेठ/ बाँकेको नरैनापुर गाउँपालिकाले बारुण यन्त्र (दमकल) खरिद गरेको छ ।
राप्तीपारी क्षेत्रमा हुने आगलागी नियन्त्रण गरी क्षति न्युनीकरण गर्ने उद्देश्यले ५१ लाख रुपैयाँमा दमकल खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. इस्माइल खाँले बतातए ।
राप्तिपारी क्षेत्रमा आगलागी हुँदा यसअघि नेपालगञ्जबाट दमकल पुग्दासम्म गाउँ नै खरानी भइसक्ने अवस्था अब हट्ने भन्दै त्यस क्षेत्रका स्थानीवासी खुसी भएका छन् ।
‘अध्यक्ष ज्यूले निर्वाचित भएर आएदेखि यहाँ धेरै सुधारको पहल गरिरहनु भएको छ, आगलागीको निकै जोखिम रहेको यो क्षेत्रमा दमकल ल्याएर राम्रो काम भएको छ,’ कट्कुइँयाका सहाजद अलि जोलाहले भने ।
आगलागीबाट हुने गरेको क्षति न्यूनीकर गर्न गाउँपालिकाले दमकल खरिद गरेको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । जनप्रतिनिधि आएपछि सुधारका संकेतहरु देख्न थालेका स्थानीय गाउँमै दमकल पुगेपछि दंग भएका छन् ।
नेपालगन्जबाट झण्डै ४५ किलोमिटरको दुरीमा रहेको नरैनापुरमा गर्मीयाममा आगलागी हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।