काठमाडौं, २२ जेठ/ यही जेठ २९ गते सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको ऐतिहासिक वार्ताको सुरक्षा नेपालको गोर्खाली सेनाले दिने भएको छ ।
सुरक्षाका लागि निकै चुनौतीपूर्ण मानिएपनि विश्वमै सबैभन्दा बहादुर सेनाकारुपमा कहलिएको गोर्खाली सेनाले सुरक्षा दिने ‘रोयटर्स’ले जनाएको छ ।
वार्ताका लागि दुवै देशका प्रमुखहरु आ–आफ्नो देशका सुरक्षाकर्मीका साथ सिंगापुर आउने भएपनि सिंगापुरका तर्फबाट गोर्खाली सेनाले सुरक्षा दिन लागेको हो ।
गोर्खाली सेनाले बैठकस्थल, वरिपरिका सडकलगायत महत्वपूर्ण स्थानहरुमा सुरक्षा प्रदान गर्नेछ ।
यसैको तयारीका निम्ति सिंगापुर प्रहरीले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा राखिने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ ।
अहिले विशेष प्रकारका हतियार दिएपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी पनि साथमा रहने भएको छ ।
सार्वजनिक स्थानमा निकै कम देखापर्ने भएपनि गत हप्ता सिंगापुरस्थित सांग्रिला होटलमा आयोजित एक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको उपस्थिति रहेको थियो ।
गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि यो देशको छनोट गरेका हुन् ।
‘आइआइएसएस मिलिटरी ब्यालेन्स’काअनुसार सिंगापुरमा ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ ।-imagekhabar