परम्परागत सिप र पेशा संरक्षण गर्न कटिबद्ध छु : सांसद गहतराज



कविन्द्र परियार : कोहलपुर,१९ जेठ/  प्रदेश नम्बर ५ की सांसद पार्वती पुन गहतराजले दलित समुदायको परम्परागत सिप पेशा तथा व्यवसायहरुको संरक्षण, आधुनिकीकरण र प्रबद्र्धनका लागि आफू कटिबद्ध रहेको बताएकी छिन् ।

बाँकेको कोहलपुरमा शुक्रबार रेडियो प्रतिबोध एफ.एमले आयोजना गरेको दलित समुदायका परम्परागत सिप पेशा तथा व्यवसायहरुको संरक्षण आधुनिकीकरण र प्रवद्र्धन लागि सरोकारवाला निकाय बिचको अन्तक्र्रियामा उनले यस्तो बताएकी हुन् । साथै उनले दलितको सिपकला संरक्षणका लागि सङ्ग्रालय खोल्ने विषयमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले लोप हुन लागेको सीप र श्रमको संरक्षण गर्नका लागि कुनैपनि कसुर बाँकी नराख्ने बताए । ‘तपाईहरु योजना बनाएर ल्याउनुहोस् नगरपालिकाले के सहयोग गर्नुपर्छ, म तयार छु’ उनले भने ।

साथै अहिलेको समयमा पनि जातिय छुवाछुत र भेदभावको व्यवहार देखाउने मानिस समाजमा असभ्य ठहरिने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित गैरसरकारी संस्थाका पूर्व अध्यक्ष गजाधर सुनारले कानुनी रुपमा दलितको अवस्था अगाडि भएपनि व्यवहारमा भने उस्तै अवस्था रहेको बताए । जातिय छुवाछुत कानुनी, समाजिक र धार्मिक रुपमा निन्दनीय रहेको बताए ।

कोहलपुर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रमा रेडियोका स्टेशन प्रमुख हेमन्त विकले स्वागत मन्तव्य राख्दै दलित समुदायका परम्परागत सिप, पेशा तथा व्यवसायहरुको संरक्षण गर्न अबको स्थानीय सरकारले प्रभावकारी नीति बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रमा कोहलपुर नगर कार्यपालिका सदस्य तथा विधान समितिका संयोजक भिम बहादुर नेपली, कार्यपालिका सदस्य शान्ता सुनार, दयाराम बिक, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर बिक, मध्यपश्चिम गहना तथा सुनचाँदी व्यवसायी संघका अध्यक्ष देविलाल विक, पत्रकार पुजन विश्वकर्मा, कोहलपुर उद्योग वाणिज्य संघका सदस्य रेखीराम सुनार, दलित महिला सर्घष सहकारी संस्थाकी प्रबन्धक तुलसी सुनार, सिलाई कटाई व्यवसायी संघका केन्द्रिय सदस्य रुपलाल परियार लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १९ गते शनिबार